काठमाडौं– नेकपा एमालेकी उपाध्यक्ष एवं बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पार्टीको वडा र पालिका तहका अधिवेशन एकैदिन गर्ने पार्टीको निर्देशनमा असन्तुष्टि व्यक्त गरेकी छन् ।
एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकलाई बुधबार सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएकी हुन्। नेकपा एमालेले कात्तिक ५ गते एकैदिन देशैभर वडा अधिवेशन र ९ गते पालिका अधिवेशन गर्ने निर्णय गरिसकेको छ।
बैठकमा बोल्दै उनले आफू हतारमा वडा र पालिका अधिवेशन गरिहाल्नु पर्छ भन्ने पक्षमा नरहेको प्रष्ट पारिन। ‘अब ६ गतेदेखि वडा तहमा एकैचोट अधिवेशन र ९ गते पालिकारको अधिवेशन भन्ने कुरा निर्देशनमा आइसकेको छ,’ उनले भनिन्, ‘ सबै कमरेडहरु त्यसका लागि तयार हुनै पर्दछ। त्यतिमात्र होइन वडा कमिटीको अधिवेशन, पालिकाको अधिवेशन भनेको केन्द्रीय कमिटीको महाधिवेशनभन्दा पनि महत्त्वपूर्ण छ भन्ने मैले ठानेको छु। किनकि यो हाम्रो आधार हो, हाम्रो धरातल हो। वडा अधिवेशन भनेको हाम्रो टेक्ने धरातल हो। हाम्रो पाइला कस्तो ठाउँमा राख्ने ? कहाँ राख्दाखेरी बलियो हुन्छ ? भन्ने कुराहरु सोच्ने बेला आएको छ।’
पालिका र वडा अधिवेशन सामान्य हो, केही पनि होइन र हतारहतारमा गरिहालौं, जोसुकै नेतृत्वमा आए पनि हुन्छ भन्ने पक्षमा आफू नरहेको उनको भनाइ छ।
‘यो हाम्रो टेक्ने धरातल भएको हुनाले यहाँ समूहगत स्वार्थ छिर्न दिनुहुँदैन। मैले समूहगत स्वार्थ भनिराखेको छु,’ उनले भनिन्, ‘पार्टीभित्र यो पनि हावी भएको छ। समूहगत स्वार्थ छिर्न दिनु हुँदैन। व्यक्तिगत स्वार्थ छिराउनु हुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।