काठमाडौं- दशैं सुरु हुँदा आकासिएको तरकारी तथा फलफूलको भाउ विस्तारै घट्न थालेको छ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार दशैं सुरु हुँदा तरकारी तथा फलफूलको मूल्यमा केही वृद्धि देखिए पनि सोमबारबाट भने मूल्य घट्न थालेको हो।
दशैंको समयमा खासगरी गोलभेँडा, काँक्रो, काउलीलगायतका केही वस्तुको मूल्य अत्यधिक बढेको थियो भने आलु प्याजलगायतकको मूल्य सामान्य बढेको थियो। दशैंको समयमा फलफूलको मूल्य पनि अत्यधिक महँगो भएको उपभोक्ताहरुले गुनासो थियो। तर, दशैं सकिएसँगै तरकारी तथा फलफूलको मूल्य विस्तारै घट्न थालेको समितिका प्रवक्ता एवं उपनिर्देशक विनय श्रेष्ठले बताए।
उनले माग सामान्य हुँदै गएकोले मूल्य पनि विस्तारै समान्यकरण हुँदै गएका कारण मूल्य घट्ने क्रम जारी रहेको बताए। गोलभेँडा, काउली, बोडीलगायतका केही तरकारीको मूल्य आजबाटै घटिसकेको पनि उनले बताए।
समितिका उपनिर्देशक श्रेष्ठले यस वर्ष बढी वर्षा भएका कारण किसानको बालीनालीमा असर पर्नुका साथै नयाँ तरकारी पनि आउने क्रममा रहेकोले मूल्यवृद्धि भएको दाबी गरे।
यस्तै, हालको समयमा भारतबाट पनि तरकारी धेरै नआउने भएकाले दशैंको समयमा मूल्य बढेको बताए। दशैंको बेला काठमाडौंको कालिमाटी फलफूल तथा तरकारी बजारमा दैनिक आठ सय टनसम्म समान भित्रिएको थियो। अष्टमीको दिन भने करिब ४०० टनमात्रै तरकारी तथा फलफूल भित्रिएको समितिको भनाइ छ।
दशैं-तिहार लगायतको चाडपर्वको बेला व्यापारीहरुले हरेको सामानको अत्यधिक वृद्धि गर्ने गरेको छन्। सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न भन्दै चार्डपर्वको बेला अनुगमनलाई तीव्रता दिने गरे पनि व्यापारीहरुले भने हरेक वर्ष हरेक सामग्रीको मूल्य अत्यधिक वृद्धि गर्ने गरेको छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।