काठमाडौं- कैलालीको धनगढी उपमहानगरपालिका-७ बेलीका २५ वर्षीय रमेश चौधरीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मृतककी श्रीमती अमृता चौधरी र सोही स्थानका २९ वर्षीय विष्णु चौधरी रहेका छन्।
शनिबार बिहान मृतक चौधरीको शव घरदेखि छ/सात मिटर पूर्व खुटिया नदीनजिक फेला परेको थियो। उक्त घटनाको प्रहरी चौकी कनरीबाट खटिएको टोलीले प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ।
आरोपित विष्णु चौधरी र मृतकको श्रीमतीबीच विगत केही वर्षदेखि सम्बन्ध रहेको पाइएको प्रहरीले जनाएको छ। असोज २९ गते राति मृतक रमेशले आफ्नै घरनजिक निज दुवै जनालाई परालको थुप्रोमा आपत्तिजनक अवस्थामा फेला पारेको, निजहरुबीचको सम्बन्धको बारेमा मृतकलाई पूर्वजानकारीसमेत रहेको र उक्त रातिसमेत निजहरुलाई आपत्तिजनक अवस्थामा भेटेपश्चात् मृतक रमेश आवेशमा आइ विष्णुलाई कुटपिट गर्दा प्रतिकार गरेको, सोही क्रममा मृतकको श्रीमती अमृता र विष्णु मिलेर रमेशलाई परालको थुप्रो नजिकै रहेको खेतमा घाँटी थिची कर्तव्य गरी मारेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको उल्लेख गरिएको छ।
उनीहरुले रमेशको शवलाई बोकेर करिब १५० मिटर टाढा खुटिया नदीतर्फ सडकनजिक चौरमा फाली घटनाको बारेमा कोही कसैलाई नबताउने सल्लाह गरी दुवै जना आ-आफ्नो घरतर्फ गएको खुलेको छ।
विष्णु र अमृताको नाममा मृतकका आफन्तले आइतबार प्रहरी चौकी कनरीमा कर्तव्य ज्यान शीर्षकमा किटानी जाहेरी दिएपश्चात् सोही शीर्षकमा निजहरुविरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।