काठमाडौं- गृह मन्त्रालयले सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्न प्रयास गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ।
बुटवल उपमहानगरपालिका–१७ मोतीपुरस्थित मोतीपुर औद्योगिक क्षेत्रमा भएको झडपमा ४ स्थानियको मृत्यु भएको भोलिपल्ट एक विज्ञप्ति निकाल्दै गृहले उक्त चेतावनी दिएको हो।
‘निर्धारित कानूनी विधि र प्रकृयाभन्दा बाहिर सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्न प्रयास गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ,’ गृहका सहायक प्रवक्ता तथा सूचना अधिकारी दिलकुमार तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यस्तै, गृहले कसैको बहकाउमा परी यस किसिमको गैरकानूनी कार्यमा संलग्न नहुन सबैमा अनुरोध गरेको छ। साथै, मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटनाप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।
उक्त घटनामा ज्यान गुमाउनेहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको हो। आइतबार भएको घटनामा सुरक्षाकर्मीको गोली लागेर ४ स्थानियको मृत्यु भएको थियो। यस्तै, अन्य १६ जना घाइते भएको प्रहरीले जनाएको छ।
गृहले नेपालको संविधानको मौलिक हकमा रहेको आवासको हक, भूमिहीन दलितको हक र राज्यको नीतिमा उल्लिखित भूमिहीन सुकुम्बासीहरुको पहिचान गरी बसोबास र जीविकोपार्जनका लागि कृषियोग्य जमिन व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको जनाएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।