काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्व लक्षित विशेष योजना थालनी गरेको छ। चाडपर्व मनाउन घर जाने यात्रुसँग तोकिएभन्दा बढी भाडा लिन खोजेको आरोपमा ७ जनालाई नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ।
टिकट काउन्टरको कर्मचारी हुँ भनी अनधिकृत रूपमा भाडा उठाई विचौलियाको काम गर्ने ७ जनालाई नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए।
प्रहरीले कोटेश्वर एरियाको काउन्टरबाट खोटाङ ऐशेलुखर्क–३ का भीम निरौला र रञ्जित श्रेष्ठ, बल्खु एरियाको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एलएक्स चौधरी, मकवानपुर भीमफेदीका प्रेम घिमिरे र बारा जितपुरका विशाल लामा पक्राउ परेका हुन्।
दशैं–तिहार मनाउन घर जानेहरूको अरु समयमा भन्दा यतिखेर बढी नै हुने हुँदा महाशाखाले विशेष निगरानी तथा अनुगमन टोली बनाएर सक्रियताका साथ काम गरिरहेको भट्टराईले बताए। यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको बताउँदै उनले प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाई तुरून्तै कारवाही गर्ने उनले जानकारी दिए।
ठगी, बढी भाडा लिने, दोब्बर भाडामा टिकट काट्नेलगायतको काम हुन सक्ने भन्दै महाशाखाले पीडित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाइरहेको छ।
पक्राउ पर्ने व्यक्तिहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा बुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।