काठमाडौं- लेखक कृष्ण आचार्यको दोस्रो उपन्यास ‘ब्लु डायरी’माथि चितवनमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। चितवन साहित्य परिषद् भवन नारायणगढमा भएको कार्यक्रममा उदय अधिकारी र लक्ष्मी बरालले पुस्तकमाथि बोलेका थिए।
अधिकारी र बरालले सहज र सरल भाषा, शैलीमा लेखिएको पुस्तकले पाठकको मन सहजै तान्न सक्ने बताए। भने, ‘युवा पुस्ता लक्षित पुस्तक निकै रोचक छ। यसले नेपाली साहित्यमा पाठक बढाउने काम गर्नेछ। लेखकले थुप्रै पाठक कमाउने छन्। पुस्तकले लेखकलाई दोस्रो पुस्ताको एक नम्बर लेखक बनाउने सम्भावना पनि देखिएको छ।’
कविडाडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले पुस्तकमा यौनभन्द धेरै सम्बन्धको कुरा भएकोले यो युवासँगै हरेक उमेर समूहका पाठकका लागि प्रेम र जीवन अनि सम्बन्ध बुझ्ने राम्रो पुस्तक भएको बताए।
चितवन साहित्य परिषद्का अद्क्ष्य सुरेन्द्र असफलले पुस्तकले प्रेम, प्रकृति र समाजलाई राम्रोसँग प्रस्तुत गरेको बताए। ‘युवाका लागि पुस्तक एउटा मार्ग दर्शन हुनसक्छ’, उनले भने।
लेखक आचार्यले पुस्तकको एक अंश सुनाउदै भने, ‘आँखाबाट झरेको आशु र रातमा बिथोलिएको निद्रा, जसले भोग्छ उसले नै बुझ्छ। ब्लु डायरीभित्र रहेको जीवनको कथा पनि त्यस्तै हो, जसले पढ्छ उसले नै बुझ्छ।’
बिएन पुस्तकले बजारमा ल्याएको पुस्तकको मूल्य ३५० रुपैया रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।