यो बादल आकाशको
जरुर फाट्ने छ
एक दिन कुहिरोले पनि
छोप्न छाड्ने छ
घाम लाग्ने छ
बाटो खुल्ने छ
मनका बाग-बगैँचामा
फूल फुल्ने छ।
जब भोका नाङ्गाहरू
सारा जुट्ने छन्
जब भोका विद्रोहीका
लस्कर छुट्ने छन्
जब हाम्रो धैर्यताको
बाँध फुट्ने छन्
तब बार-बन्धनहरू
सारा टुट्ने छन्।
जब मानिसले
नौलो सपना देख्ने छ
जब हिम्मतले चढी
शिखर टेक्ने छ
जब शूरा छातीहरूले
सङ्गीन छेक्ने छ
तब आफ्नो भविष्य
मान्छे आफैँले लेख्ने छ।
जनलहर उर्लिने छ
दरबार ढल्ने छ
इतिहासमै नचलेको
आँधी चल्ने छ
फलाम पनि तातेपछि
पक्कै गल्ने छ
हाम्रो संसार उदाउने छ
तिम्रो जल्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।