प्रहरी प्रधान कार्यालय
काठमाडौं– देशभरकै प्रहरी कार्यालयले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी 'विशेष सुरक्षा योजना' लागू गरिसकेका छन्।
विशेष सुरक्षा योजनाअन्तर्गत ठूलो मात्रामा सादा पोशाक र बर्दीका प्रहरी खटिने प्रहरीले जनाएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लामा ७ हजार ५ सय ७५ प्रहरी परिचालित हुनेछन्।
काठमाडौं, भक्तपुर र ललितपुरका १७७ ठाउँमा प्रहरीले नियमित निगरानी गर्ने, १३१ ठाउँमा नियमित चेकिङ र ३९ ठाउँमा मोबाइल गस्ती परिचालन हुने गरी सुरक्षा व्यवस्था मिलाइएको महानगरीय प्रहरी कार्यालयले जानकारी दिएको छ।
त्यसैगरी, उपत्यकाका ७९ स्थानमा पैदल गस्ती, १५९ ठाउँमा पिकेट टिम परिचालन, बैंक वित्तिय संस्था रहेको २८ ठाउँमा प्रहरी परिचालन हुन्छन्। सादा पोसाकमा ५२ ठाउँमा निगरानी, मादक पदार्थ सेवन चकिङ ६७ ठाउँमा, लामो दूरीमा सवारी साधन १० ठाउँमा जाँचको व्यवस्था मिलाइएको छ।
महानगरीय प्रहरी अपराध महाशाखाबाट १३६ जना सादा पोशाकका प्रहरी परिचालन हुनेछन् भने २२ ठाउँमा ‘कर्डन एण्ड सर्च अपरेशन’ गर्ने गरी सुरक्षा व्यवस्था मिलाइएको छ।
चाडपर्वका लागि विशेष सूरक्षा योजना लागू गरेको प्रहरीले आम नागरिकलाई पनि सुरक्षित रुपमा चाडपर्व मनाउन केही सुरक्षाका 'उपायहरू' अवलम्वन गर्न आग्रह गरेको छ।
यस्ता छन् प्रहरीले नागरिकलाई अपनाउन आग्रह गरेका सुरक्षाका उपाय–
– आफ्नो घरमा डेरा गरेको व्यक्ति तथा घरमा काम गर्ने व्यक्तिको नाम, थर र वतन र फोटोका साथै स्थायी ठेगाना लिइ राख्नुहोस्।
–रातको समयमा आफ्नो घर, टोलमा हो–हल्ला गरी हिँड्ने तथा शंकास्पद व्यक्तिहरूको गतिविधि देखेमा तुरुन्त प्रहरीलाई खबर गर्नुहोस्।
– जुवा, तास, ढुकुटी खेल्ने र खेलाउनेको जानकारी प्रहरीलाई दिनुहोस्।
– टोल छिमेकमा नौलो वा असामान्य व्यक्ति बारम्बार देखिएमा निगरानी राखी सोधपुछ गर्ने बानी बसाल्नुहोस्।
– सार्वजनिक स्थानमा धुम्रपान, मद्यपान गर्ने कार्यलाई निरुत्साहित गरौं।
– लागु औषध, नशालु पदार्थ सेवन तथा बेचबिखन गर्ने कोही व्यक्ति भएमा तुरुन्त प्रहरीलाई खबर गर्नुहोस्।
– मादक पदार्थ सेवन गरेर कहिल्यै सवारी साधन नचलाउनुहोस्।
– छतमा चढेर यात्रा नगरौ, सडकको दाँयाबाँया जथाभावी पार्किङ नगरौं, ट्राफिक नियमको सधैं पालना गरौं।
– अपरिचित व्यक्तिले दिएको कुनै पनि खाने कुराको सेवन नगर्नुहोस्। आफ्नो बालबच्चालाई पनि सेवन गर्नु हुन्न भनी सिकाउनुहोस् तथा अपरिचित व्यक्तिलाई छिटै विश्वास नगर्नुहोस्।
– रातको समयमा कोही कसैले ढोका ढक्ढकाएमा नचिनी ढोका नखोल्नुहोस्।
– आफ्नो घर, टोल, छिमेकमा बत्तीको व्यवस्था मिलाइ सम्भव भएसम्म आपतकालीन साइरन राख्नुहोस्।
– बैंक तथा वित्तीय संस्थामा रकमको कारोबार गर्न जाँदा तथा ठूलो नगद कारोबार गर्न जाँदा सुरक्षित तबरले विश्वासिलो मानिसलाई साथमा लिइ जानुहोस्। साथै, कुनै शंकास्पद गतिविधि, खतरापूर्ण लागेमा तुरुन्त प्रहरीलाई खबर गर्नुहोस्।
– चोरी, डकैती, लुटपाट, डाँका र गुन्डागर्दी गर्ने व्यक्तिको सूचना प्राप्त हुनासाथ गोप्य रुपमा प्रहरीलाई खबर गर्नुहोस्।
– सार्वजनिक स्थानमा हिँडडुल गर्दा बढी मात्रामा सुनको गर–गहना प्रयोग नगर्नुहोस् र साथमा बढी नगद पनि नबोक्नुहोस्।
– धम्किपूर्ण फोन आएमा रेकर्ड गर्न मिल्नेसम्म रेकर्ड गरी फोन नम्बरसहित प्रहरीलाई खबर गर्नुहोस्।
– कालोबजारी, अवैध मदिरा बिक्रीवितरण, चन्दा आतंक, अपहरण, फिरौती र देह व्यापारमा संलग्न व्यक्ति टोल छिमेकमा भएमा तुरुन्त प्रहरीलाई खबर गर्नुहोस्।
– रातिको समयमा घरको गेट, ढोकाको चुकुल, कब्जा राम्रोसँग बन्द गरी ताल्चा लगाएर मात्र सुत्ने गर्नुहोस्।
– गरगहना लगाउँदा सावधानीपूर्वक लगाउनु होस्। गरगहना लगाएर रातको समयमा हिँडडुल नगर्नुहोस्।
उपत्यका छाडेर बाहिर जानेले ध्यान दिनुपर्ने कुरा
– कोठा छाडेर घर जाँदै हुनुहुन्छ भने घरभेटीलाई सबै कुरा प्रष्ट पारेर जानुहोस् र घरभेटीलाई फोन गरेर बेला–बेला कोठको बारेमा जानकारी लिने गर्नुहोस्।
– बहुमूल्य सामान घरमा राखेर नजानुहोस्।
– विश्वासिलो छिमेकी वा नजिकको प्रहरीलाई आफू बाहिर जाने कुरा जानकारी गराउनुहोस्।
– घरको गेट, ढोकाको चुकुल, कब्जा राम्रोसँग बन्द गरी ताल्चा लगाएर मात्र बाहिर जानुहोस्।
– ग्यास रेगुलेटर, बत्ती जस्ता संवेदनशील वस्तुहरु बन्द गरेर मात्रै घर जानुहोस्।
– आफ्नो घर, टोल, छिमेकमा बत्तीको व्यवस्था मिलाएर रातभर टोल तथा सडकका बत्ती बाल्ने गर्नुहोस्। सम्भव भएसम्म आपतकालीन साइरन राख्नुहोस्।
यदि कुनै घटना भइहालेमा वा आपराधिक व्यक्तिको कुनै जानकारी भएमा प्रहरीको कन्ट्रोल नम्बर १०० मा फोन गर्न पनि प्रहरीले आग्रह गरेको छ। त्यसैगरी काठमाडौं प्रहरी परिसर प्रमुखको नम्बर ९८५१२०५५५५, ललितपुर प्रहरी प्रमुखको नम्बर ९८५१२२५५५५ र भक्तपुर प्रहरी प्रमुखको नम्बर ९८५१२१५५५५ मा सम्पर्क गर्न पनि प्रहरीले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।