सुनसरी– सुनसरीको कोशी गाउँपालिका–७ अन्तर्गत नेपाल–भारत सीमा नजिकैबाट अपहरणमा परेका १३ वर्षीय बालकको प्रहरीले सकुशल उद्धार गरेको छ।
प्रहरीले अपहरणमा संलग्न रहेको अभियोगमा भारतको सुपौल ग्राम पंचायत बलबदैपुर–६ बैरयाकमाल बस्ने मुकुम मियाँलाई पक्राउ गरेको छ।
बालक अपहरणमा परेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले भारतीय प्रहरी समेतको सहयोगमा खोजी गर्ने क्रममा मियाँले अपहरण गरी घरमा राखेको अवस्थामा फेला पारी ती बालकको उद्दार गरेको हो।
प्रहरीका अनुसार मियाँ नेपालबाट भारततर्फ ज्याला मजदुरी गर्ने कामदारहरु लैजाने ठेकादार हुन्। कोशी गाउँपालिका–७ का भुल्टन सदा लगायत ५ जनाले १५–२० जनाको संख्यामा नेपाली कामदारहरु उपलब्ध गराइदिने भन्दै उनीसँग २ लाख रुपैयाँ अग्रीम लिएका प्रहरी अनुसन्धानबाट खुलेको छ।
अग्रीम पैसा लिएको लामो समयसम्म पनि भुल्टनले कामदार नपठाएको र पैसा समेत फिर्ता दिन नमानेपछि मियाँ लगायतको समूहले भुल्टन सदाको गाउँकै ती बालकलाई अपहरण गरी कुटपिट समेत गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
अपहरणमुक्त भएका बालकलाई अभिभावकको जिम्मा लगाइको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका मियाँमाथि अपहरण तथा शरीर बन्धकको कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।