काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन पार्टीबीचको सहकार्य कांग्रेस विरूद्ध नभएको बताएका छन्।
एमाले, माओवादी र नयाँ शक्तिबीच सहकार्यको सार्वजनिक कार्यक्रममा बोल्दै प्रचण्डले सहकार्य जनताको पक्षमा रहेको बताए। तीन दलबीचको सहमति निर्वाचन प्रयोजनका लागि र कम्युनिस्ट केन्द्र निर्माणका लागि भएको बताए।
‘हाम्रो एकता कांग्रेसविरूद्ध होइन एउटै कम्युनिस्ट पार्टी निर्माणका लागि हो,’ उनले भने।
उनले सत्ता गठबन्धनमा भने तत्काल केही फेरबदल नहुने उल्लेख गरे। निरन्तरतामा क्रम भंगता विकासको नियम भएको भन्दै उनले तीन पार्टीको सहमतिले एउटै कम्युनिस्ट पार्टी निर्माण गरी समृद्धितर्फ मुलुकलाई लाने दाबी गरे। शान्तिप्रक्रिया देखि नै कम्युनिस्ट केन्द्र निर्माणको पहल भए पनि एक दशकपछि चाहना पूरा भएकाले आफू गौरवान्वित भएको उनले बताए।
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तीन पार्टीबीच मात्र नभएर सबै लोकतान्त्रिक र परिवर्तनशील शक्तिसँग सहकार्य हुने प्रचण्डको भनाइ छ। 'सबै शक्तिसँग तालमेल गरेर बचेको सिटमा एमाले र माओवादीबीच ६०-४० मा भागवण्डा हुन्छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।