काठमाडौं- उपत्यका बाहिर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोज्ने ९ जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
बसपार्क आसपास यात्रुलाई टिकट काटिदिन्छु भनि मोलमोलाई गर्ने भरतपुर चितवनका ३८ वर्षका समिर श्रेष्ठ, धनकुटाका ३० वर्षीय किरण लिम्बु र सुनसारीका २८ वर्षीय सविन राई पक्राउ परेका हुन्। त्यस्तै टिकट काउण्टरको कर्मचारी हुँ भन्दै भाडा बार्गेनिङ्ग गर्ने काठमाडौं बस्ने वर्ष ४६ का राज ठकुरी, दाङ घोराहीका २९ वर्षीय विशाल गुरुङ्ग र कैलालीका २९ वर्षिय रमेश कठायत गंगबुबाट पक्राउ परेका हुन्।
उनीहरूलाई अवश्यक कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
त्यसैगरि काठमाडौंको कलंकीबाट वर्ष ३९ का नवीन केसी र बल्खुबाट शुभयात्री काउण्टरमा काम गर्ने निजगढका अरुण मगर र जाजरकोट घर भई किर्तिपुर बस्ने नारायणी काउण्टरका विनोद रानालाई समेत पक्राउ गरी कारबाहीको लागी प्रहरी बृत्त कालीमाटीमा बुझाएको महाशाखाले जनाएको छ।
ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको १४ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेसँगै यात्रुलाई परेका समस्याहरु समाधान गर्दै आएको छ।
बिगतका वर्षहरुमा झै चाडपर्बको समयमा उपत्यका बाहिरिने यात्रुहरुको चाप अत्याधिक हुने गर्दछ। यस्तो भिडभाडको मौका छोपी यात्रुहरुलाई ठगी गर्ने, बढी भाडा लिने, डबल टिकट काट्ने समूहलाई नियन्त्रण गर्न र सहज र सुरक्षित यात्राको व्यबस्था गर्न ट्राफिक प्रहरीले विशेष निगरानी एव अनुगमन गर्न टोली परिचालन गरेको छ।
ट्राफिक प्रहरीको सादा पोशाकमा खटिएको टोलीले उपत्यका बाहिरिने यात्रुहरुसँग बढी भाडा लिई टिकट काट्ने व्यक्तिहरुलाई निग्रानी गर्ने, आफैं यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुहरुसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने व्यक्तीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गर्ने गरेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए।
तोकिएको टिकट काउण्टरमा परिचयपत्र बहाकहरुले मात्र टिकट काट्ने व्यवस्था भएपनि अनाधिकृत ब्यक्तिहरुले बिचौलिया बनेर यात्रुसँग मोलमोलाई गरि तोकिएको भन्दा बढी भाडा लिँदै गरेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको एसएसपी भट्टराईले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।