मंगलबारे– भारतीय नोटसहित इलामबाट एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सूर्योदय नगरपालिका फिक्कलका अनुप अग्रवाललाई ११ लाख भारु (भारतीय रुपैयाँ)सहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। ३५ वर्षीय अग्रवाललाई थप अनुसन्धानका लागि प्रहरीले राजस्व अनुसन्धान कार्यालय इटहरी लगेको छ।
विशेष सूचनाका आधारमा अग्रवाललाई झोलामा बोकेको दुई हजार, ५००, २०० र १०० का नोट गरी जम्मा भारतीय रुपैयाँ ११ लाखसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। भारतीय रकमको स्रोत नखुलेपछि अग्रवाललाई पक्राउ गरेको प्रहरीले बताएको छ।
मे१च ६४२४ नंको कारबाट झापा जाँदै गर्दा अग्रवालका गाडीचालक पूर्णबहादुर कठेतसहित अग्रवाललाई नियन्त्रणमा लिइएको हो। अग्रवालले विगतदेखि नै फिक्कलमा बसी भारतीय नोटको कारोबार गर्दै आएको अनुमान प्रहरीको छ।
स्रोत नखुलेको पैसासहित पक्राउ परेका अग्रवालमाथि थप अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी निरीक्षक किशोर तामाङले बताए। भारतसँग सीमा जोडिएको पशुपतिनगर नजिकै रहेकाले पनि यस क्षेत्रमा सामान्य भारुको कारोबार भने हुने गरेको छ।
स्थानीयवासी दैनिक उपभोग्य वस्तुको खरिदका लागि समेत भारत जाने र भारतीय व्यापारीले पनि कृषि उपज खरिद गर्ने भएकाले इलाममा भारतीय नोटको कारोबार हुने गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।