काठमाडौं– 'हनी ट्रयाप' को शैलीमा ठगी गरेको आरोपमा काठमाडौंमा २ युवती पक्राउ परेका छन्।
महानगरीय प्रहरी अपराध महाशाखाले ठगीको आरोपमा बनेपा नगरपालिका–३ की १९ वर्षीया उर्मिला भनिने युनिसा मगर र काभ्रे नमोबुद्ध नगरपालिका–८ की २६ वर्षीया रोशनी भनिने सुनिता तामाङलाई पक्राउ गरेको हो।
उनीहरुले दोलखा मैलुङ गाउँपालिका–४ घर भइ काठमाडौं बौद्ध बस्ने एक पुरुषलाई 'हनी ट्र्याप' शैलीमा ठगी गरेको महाशाखाका एसपी कृष्ण कोइरालाले बताए।
प्रहरीका अनुसार युनिसा र रोशनीले फोन गरेरै ती पुरुषलाई भेट्न भन्दै एयरपोर्ट (त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल) बोलाएका थिए। एयरपोर्टबाट उनीहरुले ती पुरुषलाई ट्याक्सीमा राखी ललितपुरको चापागाउँ बसपार्क नजिकै रहेको खाजा कटेजमा पुर्याएका थिए।
सो क्रममा युनिसाले टिकटक बनाउँछु भनेर ती पुरुषको सुनको सिक्री लिएकी थिइन्। उक्त सिक्रि लगाएपछि ती पुरुषलाई एक साथीकोमा जन्मदिन मनाउन जाउँ भन्दै चापागाउँकै मोक्तान होटल पुर्याइएको प्रहरीले जानकारी दिएको छ। त्यसपछि युनिसा र ती पुरुषलाई होटलको कोठामा छाडेर सिक्री लिएर सुनिता होटलबाट निस्केकी थिइन्।
सुनिताले ती पुरुषलाई विश्वासमा दिलाउन आफ्नो मोबाइल समेत होटलको कोठामै छाडेकी थिइन्। ठगी गर्ने पूर्वयोजना अनुसार युनिसा र ती पुरुषलाई होटलको कोठामा छाडेर बाहिरबाट ढोका समेत बन्द गरेर भागेकी सुनिता त्यसपछि भने ब्ल्याकमेलिङ गर्न थालेकी थिइन्।
बलात्कार आरोपमा फसाइदिने भन्दै उनीहरु सुनको सिक्री लिएर फरार भएका थिए। अपराध महाशाखाको टोलीले उनीहरुलाई सोमबार काठमाडौंको गोंगबु क्षेत्रबाट पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।