काठमाडौं– सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहित ठगी आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ। विभिन्न पीडितहरुको उजुरीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबीले) इच्छाराजसहित १२ जनालाई पक्राउ गरेको हो।
सीआईबी स्रोतका अनुसार पक्राउ पर्नेहरुमा सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्थाका तत्कालीन अध्यक्ष इच्छाराज तामाङ, वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठ, प्रबन्धक भगवानबहादुर सिंह, जुनियर अधिकृत शंकरप्रसाद पाठक, लेखा अधिकृत राकेश महर्जन, सहायक प्रबन्धक बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौश्तुप चेतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह, पूर्व लेखा समिति सदस्य हरिहर लामिछाने, जुनियर असिस्टेन्ट म्यानेजर एलिना तुलाधर, जुनियर असिस्टेन्ट म्यानेजर मायोनानी महर्जन र असिस्टेन्ट संगीत श्रेष्ठ छन्।
उनीहरुलाई सोमबार उपत्यकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो। पक्राउ परेका इच्छाराज सिभिल बैंक, सिभिल होम्स तथा सिभिल सहकारीलगायतका मुख्य सञ्चालक हुन्। सिभिल सहकारीका निक्षेपकर्ताले उनीविरुद्ध ठगीको उजुरी दिएका थिए।
निक्षेपकर्ताहरुले उनीविरुद्ध ४६ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोप लगाएका छन्। पक्राउ परेको विषय सार्वजनिक भएपछि उनीहरुविरुद्ध उजुरी दिनको संख्या पनि बढेको सीआईबीले जनाएको छ ।
अहिलेसम्म ७० करोड रुपैयाँ ठगी गरेको भन्दै १३० जनाबाट उजुरी आइसकेको सीआईबीले जानकारी दिएको छ।
तामाङविरुद्ध विभिन्न व्यक्तिबाट ठगीको उजुरी परेकाले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सीआईबी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताए। इच्छाराज नेकपा एमालेका पूर्वसांसद समेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।