काठमाडौं- लगातार उच्च अंकले घट्दै आएको सेयरबजारमा आज दोहोरो अंकको सुधार आएको छ। साताको तेस्रो कारोबार दिन आज (मंगलबार) पुँजीबजार मापक परिसूचक (नेप्से) ४१.८४ अंकले बढेको हो।
यो साताको सुरुआती दुई दिन आइतबार ५५.९३ अंक र सोमबार ६.६८ अंकले सेयर बजारमा गिरावट आएको थियो। तेस्रो दिन ओरलाो यात्रामा ब्रेक लागेको छ।
सेयरबजार लगातार घटेपछि सोमबार नेपाल इन्भेस्टर्स फोरमले सरकारसमक्ष पाँच बुँदे माग अघि सारेको थियो। लगानीकर्ताले ८ खर्बभन्दा बढी गुमाइसक्दा पनि सरकार र सरोकारवाला निकाय मौन रहेकोप्रति फोरमले आपत्ति जनाएको थियो। यसैगरी नेपाल उद्योग वाणिज्य महासंघले पनि सोमबार नै विज्ञप्ति जारी गरी पुँजीबजारलाई प्रभावित पार्ने नीतिगत व्यवस्था संशोधन गर्न माग गरेको थियो।
आज ४१.८४ अंकले बढेसँगै नेप्से २६१२.६५ विन्दुमा उक्लिएको छ। कारोबार भने तीन अर्बमा सीमित भएको छ। आइतबार चार अर्ब रुपैयाँ र सोमबार साढे तीन अर्ब रुपैयाँको कारोबार भएकोमा आज घटेर दुई अर्ब ९९ करोड ६८ लाख १९ हजार रुपैयाँमा खुम्चिएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जानकारी दिएको छ।
कूल २२३ वटा कम्पनीका ५८ लाख ४२ हजार १३५ कित्ता सेयर जम्मा ४१ हजार ५१ पटक खरिद-बिक्री भएका थिए।
यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ७.०४ अंकले बढेर ४९२.०३ विन्दुमा उक्लिएको छ। आज व्यापार उपसमूहबाहेक सबै उपसमूहको परिसूचक सकारात्मक बनेको छ।
आज मल्टिपर्पोज फाइनान्स कम्पनी लिमिटेड, समता घरेलु लघुवित्त संस्था र हिमालयन पावर पार्टनर लिमिटेडको कारोबारमा सकारात्मक सर्किट लागेको थियो। एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतभन्दा धेरैले घटेपछि नकारात्मक सर्किट लागेको छ।
आज शिखर इन्स्योरेन्स कम्पनीको संस्थापक सेयर सबैभन्दा धेरै १३ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। प्राइम कमर्सियल बैंकको संस्थापक सेयर सबैभन्दा धेरै दुई लाख ४२ हजार १६ कित्ता कारोबार भएको छ। नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंकको सेयर सबैभन्दा धेरै एक हजार ३१५ पटक किनबेच भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।