काठमाडौं- साताको दोस्रो कारोबार दिन पनि सेयरबजार सामान्य अंकले घटेको छ। आज (सोमबार) पुँजीबजार मापक परिसूचक (नेप्से) ६.६८ अंकले घटेको छ। आइतबार नेप्से ५५.९३ अंकले गिरावट आएको थियो।
आज ६.६८ अंकले घटेसँगै नेप्से २५७०.८१ विन्दुमा ओर्लिएको छ। कारोबारसमेत थप घटेर साढे तीन अर्बमा खुम्चिएको छ। आइतबार चार अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्सेमा तीन अर्ब ६२ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२७ वटा कम्पनीका ७६ लाख ५३ हजार २२० कित्ता सेयर जम्मा ४८ हजार २३६ पटक खरिद-बिक्री भएका थिए।
यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १.२८ अंकले घटेर ४८४.९८ विन्दुमा ओर्लिएको छ। नेप्से घटे पनि आज होटल तथा पर्यटन, अन्य, माइक्रोफाइनान्स र जीवन बिमा उपसमूहको परिसूचक सकारात्मक बनेको छ। बाँकी उपसमूह भने नकारात्मक बनेको नेप्सेले जनाएको छ।
आज आशा लघुवित्त वित्तीय संस्थाको कारोबारमा सकारात्मक सर्किट लागेको थियो। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.३८ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।