काठमाडौं– यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट दुई जना विचौलिया पक्राउ परेका छन्। प्रहरीले आइतबार कार्यालय परिसरबाट उनीहरुलाई पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा ललितपुर महनगरपालिका–१४, नक्खीपोट बस्ने ३० वर्षीय सुमन तामाङ र ललितपुर १३ कुसुन्ती बस्ने वर्ष २३ का सुरज गुप्ता रहेका छन्।
उनीहरुले लिखित परीक्षा पास गराइदिने, फास्ट ट्रायल मिलाइदिने, नवीकरण र सिफारिससमेत मिलाइदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने गरेको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। यस्तै लाइनमा बसेका सर्वसाधारणलाई सास्तीसमेत दिने गरेको प्रहरीको भनाइ छ।
तीनै जनालाई यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ गरी लिँदै गरेको अवस्थामा पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।
महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले आफैं सेवाग्राही बनेर कारबाही अभियान चलाइरहेको छ। सोही क्रममा उनीहरु पक्राउ परेका हुन्।
पक्राउ परेका दुवैलाई हाल थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त सातदोबाटोमा बुझाइएको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।