काठमाडौं– साढे ३३ किलोसहितको ३८ सय किलो सुन तस्करी र मोरङका सनम शाक्यको हत्या प्रकरणको मुद्दाको सुनुवाइ सकिएको छ।
जिल्ला न्यायाधीश भरत न्यायाधीशको इजलासमा जारी सुनुवाइ आइतबार सकिएको हो। आइतबार सरकारी वकिलले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो।
सोमबार फैसला तयार गर्न सकिए सोही दिन नभए मंगलबारसम्म फैसला आउने जनाइएको छ।
२०७४ मंसिरमा हवाईमार्ग हुँदै विदेशबाट तस्करी गरेर ल्याइएको साढे ३३ किलो सुन हराएको भन्दै तस्करको समूहले १८ फागुन २०७४ मा मोरङको उर्लाबारीका सनम शाक्यको हत्या गरेको थियो। सनमको हत्या घटनाको अनुसन्धानकै क्रममा साढे ३३ किलोसहित ३८ सय किलो सुन तस्करी प्रकरण बाहिरिएको थियो।
गृह मन्त्रालयले सुन तस्करी र शाक्यको हत्या प्रकरणको अनुसन्धानका लागि गृह मन्त्रालयका सह–सचिवको नेतृत्वमा समिति गठन गरेको थियो। गृह मन्त्रालयको समितिको छानबिनका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङले ६३ जनाविरुद्ध मुद्दा चलाउन भन्दै जिल्ला सरकारी वकिल कार्यालय मोरङलाई प्रतिवेदन बुझाइएको थियो।
जिल्ला सरकारी वकिल कार्यालय मोरङले १९ वैशाख २०७५ मा गोरे भनिने चूडामणि उप्रेतीलाई मुख्य अभियुक्त बनाइ ६३ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो। त्यसपछि ३ पटक गरी थप १४ जनाविरुद्ध सुन तस्करी प्रकरणमा मुद्दा दर्ता भएको थियो।
विभिन्न समयमा प्रतिवादी बनाइएका ७७ जनाविरुद्ध कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, अपहरण तथा शरीर बन्धक, संगठित अपराध, राजस्व छलि लगायतका आधा दर्जन अलग–अलग अभियोग लगाइएको छ।
सुन तस्करी तथा शाक्यको हत्या प्रकरणमा नेपाल प्रहरीका उच्च अधिकारीदेखि व्यापारीसम्म तानिएका थिए। मोरङ जिल्ला अदालतले नेपाल प्रहरीका पूर्व डीआईजी गोविन्द निरौला, एसएसपी (हाल डीआजईजी) दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेललाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। पछि उनीहरुलाई उच्च अदालत विराटनगरले साधारण तारेखमा रिहा गरेको थियो।
मोरङ जिल्ला अदालतले पुर्पक्षका लाथि थुनामा पठाएका रामकुमार तिवारी, प्रभात अग्रवाल, विमल पोद्दार, राजेन्द्रकुमार शाक्य, राजकुमार दारुका, मदनप्रसाद घिमिरे, शैयत अक्बर र इम्तियाज लगायतलाई भने उच्च अदालत विराटनगरले धरौटीमा छाडेको थियो।
२०१५ जुलाईदेखि २०१६ अगस्टसम्म संगठित आपराधिक सन्जाल बनाएर १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैयाँ बरावरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम बराबरको सुन तस्करी गरेको मुद्दामा जिल्ला अदालत मोरङले गत आइतबारदेखि अन्तिम सुनुवाइ सुरु गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।