काठमाडौं– नेपाल र भारतका सेनाको संयुक्त सैन्य अभ्यास सकिएको छ। असोज ४ गतेदेखि भारतको पिथौरागढमा सुरु भएको 'इन्डो–नेपाल बटालियन लेवल कम्बाइन ट्रेनिङ' सूर्य किरण–एक्सभी शनिबार औपचारिक रुपमा सम्पन्न भएको हो।
उक्त अभ्यासमा नेपाली सेनाबाट प्रमुख सेनानीको नेतृत्वमा ३०० जना सहभागी थिए। यस्तै, भारतीय सेनाका ४०० जना फौज सहभागी भएका थिए।

संयुक्त सैनिक अभ्यासमा विभिन्न सैनिक युद्धकला, अभ्यासका साथै विपद एवं कोभिड-१९ जस्ता महामारीको दौरान सुरक्षा फौजको भूमिका आदिका बारेमा अभ्यास गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ। अभ्यासमा सहभागी फौजहरुले आ-आफ्नो पेसागत अनुभवहरु समेत साटासाट गरेका थिए।
.jpg)
अभ्यासको समापन कार्यक्रममा भारतीय सेना मध्य कमाण्ड सेनापति रथी एसएस महलले अन्तिम प्रवचन दिएका थिए। समापन कार्यक्रममा नेपाली सेनाको मध्य कमाण्ड हेडक्वार्टरका कमाण्ड सेनापति उपरथी विनय बिक्रम राणा, नम्बर ३ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी कुमार बाबु थापा, दुवै देशका सैनिक सहचारीहरु तथा भारतीय सेनाबाट सहभागी गणका कमाण्डिङ अफिसर लगायतको उपस्थिति रहेको थियो।
नेपाली सेना र भारतीय सेनाबीच सम्पन्न सैनिक अभ्यासले २ देशबीच कायम रहेको मैत्रिपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ बनाउने नेपाली सेनाको विश्वास छ। अभ्यासले दुवै देशका सेनाको सकलदर्जामा आधारभूत सैनिक सीपको विकास तथा आपसी समझदारीमा अभिवृद्धि हुने पनि सेनाको भनाइ छ।
विश्वास नेपाली सेनाले लिएको छ ।
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।