काठमाडौं– कवि केवल बिनाबीको कविता संग्रह ‘यादहरुको सङ्ग्रहालय’ सार्वजनिक भएको छ।
कवि तथा गीतकार भूपाल राई, लेखकद्वय राजेन्द्र मानन्धर र धनकुमारी सुनारले काठमाडौँमा आयोजित कार्यक्रममा शनिबार पुस्तक विमोचन गरेका हुन्। सो अवसरमा कवि तथा गीतकार राईले बिनाबीका कविताले विद्रोह बोलेको बताए। बिनाबीका कविताले सत्तालाई चुनौती दिएको राईको भनाइ छ। ‘कवितामार्फत राजनीति गर्न हुन्न’ भन्ने झूटो विचार बोक्नेहरुका विरुद्ध कवि बिनाबी र उनी आबद्ध उन्मुक्त पुस्ताले चलाएको अभियान ठीक ढंगले बढिरहेको पनि राईले बताए।
त्यसैगरी लेखक राजेन्द्र महर्जनले बिनाबीको कविता जातीय पिरामिडको पिँधमा पारिएका समुदायको विद्रोहको आवाज भएको बताए। ‘हामी विभेदको कुरा गर्दा मनुस्मृतिमा पुग्छौँ। तर, त्यसयता पनि धेरै शासकले विभाजन र विभेदको रेखा कोरेका छन्,’ महर्जनले भने, ‘जयस्थिति मल्ल, राम शाहजस्ता शासकले रचेको विभाजनबारे पनि बुझ्न जरुरी छ। बिनाबीका कविताले त्यतातर्फ पनि औँला उठाएका छन्।’
लेखक धनकुमारी सुनारले बिनाबीका कविता विभेदविरुद्धको आन्दोलनको दस्तावेज भएको बताइन्। कविताहरुले दलनविरुद्ध सशक्त प्रतिरोध बोलेको उनको भनाइ थियो।
उक्त पुस्तकमा ४७ कविता संग्रहित छन्। पुस्तक फिनिक्स बुक्सले बजारमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।