काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब हुने तीनवटै तहका निर्वाचनमा पार्टीले जसरी पनि जित्नैपर्ने भन्दै त्यसतर्फ केन्द्रित हुन निर्देशन दिएका छन्।
प्रथम विधान महाधिवेशनमा प्रस्तुत आफ्नो राजनीतिक प्रतिवेदनमा आएका सुझावलाई समेटेर जवाफ दिँदै उनले यस्तो बताएका हुन्। ‘स्थानीय तह, प्रदेश र संघीय निर्वाचन जित्नै पर्नेछ। हामीले स्थानीयदेखि केन्द्रसम्म बहुमतको सुदृढ सरकार बनाउनु छ,’ उनले भने, ‘यो किन गर्नुपर्ने छ भने देशको विकास गर्नुपर्ने छ, गरिबी हटाउनुपर्ने छ, कृषि आधुनिकरण गर्नुछ। पर्यटन ध्वस्त भएको छ। कृर्षिको आधुनिकिकरण गर्नुपर्ने छ। उत्पादनमुलक र रोजगारी मुलक कामको वृद्धि गर्नुछ। अल्पविकसितबाट विकाससिलमा सिफारिस गराएका छौं। त्यो लक्ष्यलाई पुरा गर्नुपर्ने छ। दिगो विकास लक्ष्यलाई अघि बढाउनुपर्ने छ,’ ओलीले भने।
उनले स्थानीय तहमा कुन ठाउँमा कसरी निर्वाचन जित्ने हो त्यसरी रणनीति बनाएर अघि बढ्नुपर्ने बताए। केहीले मतपत्र च्यातेर हुन्छ कि बत्ति निभाएर हुन्छ कि चुनाव जित्नु छ भनेर भाषण गरेको भन्दै ओलीले त्यस्तो हुन नदिन एमाले लाग्नुपर्ने बताए।
'हामी गुण्डागर्दी गर्दैनौं धाँधली गरेर चुनाव जित्दैनौं,' उनले भने, 'कसैले त्यस्तो सोचेको छ भने एमालेले त्यसो हुन दिने छैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।