काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही मानिसहरुले आफूलाई बाँचेको देख्न नचाहेको टिप्पणी गरेका छन्। आफू बाँचेको देखेर केही मान्छेहरु चिन्तित हुने गरेको ओलीको भनाइ छ।
ललितपुरको गोदाबरीमा जारी प्रथम विधान महाधिवेशनमा प्रस्तुत आफ्नो राजनीतिक प्रतिवेदनमा आएका सुझावका विषयमा जवाफ दिँदै ओलीले नेकपा एमालेको नेतृत्वले कहिल्यै स्थापित हुन नपाएको पनि बताए।
'मदन भण्डारी हुँदा देखि सहिएन, पुष्पलाललाई पनि महाधिवेशन गर्न दिइएन,' ओलीले भने। अहिले पनि त्यस्तै आलोचना भइरहेको बताए। नेतृत्व यसैगरी स्थापित हुन नदिएको भन्दै उनले अब त्यस्तो नहुने दाबी गरे।
‘हाम्रा विरोधीहरुमा म बाँचिरहेकोले चिन्ता देखिएको छ। म बिरामी हुन्छु फेरि वाँच्छु, अनि चिन्ता भएको छ। अर्को कार्यकर्ताले धेरै माया गरेकाले चिन्तित छन्। बाँचेकैमा चिन्तित छन् त म के गरुँ?' ओलीले भने।
एमालेलाई बहुमतमा हल्लाउन नसक्ने सुदृढ पार्टीमा पुर्याएर छोड्ने पनि ओलीले दाबी गरे। ओलीले पार्टीको अवस्थालाई एक इन्च तलमाथि पर्न नदिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।