काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विमाजन गरी अर्को पार्टी गठन गरेका नेता माधव कुमार नेपाल 'गाईको पुच्छर समातेर' वैतरणी पुगेको र अहिले अर्कै पुच्छर समातेर वैतरणी तरेको टिप्पणी गरेका छन्।
ललितपुरको गोदाबरीमा जारी पार्टीको प्रथम विधान महाधिवेशनमा पेस आफ्नो राजनीतिक प्रतिवेदनमा उठेका सुझावलाई समेटेर जवाफ दिने क्रममा ओलीले नेता नेपाल 'गाईको पुच्छर समातेर वैतरणी पुगेको तर, अहिले अर्कै पुच्छर समातेर तरेको' टिप्पणी गरेका हुन्।
'पार्टीलाई सिध्याउनुपर्छ र अर्को पार्टी खोलेर बनाउछु भन्ने, त्यो कस्तो भने गाइको पुच्छर समातेर बैतर्नी पुग्नु जस्तै हो। अहिले अर्कै पुच्छर समातेर बैतर्नी तर्ने काम भएको छ।'
ओलीले अर्को पार्टीमा लागेका नेता–कार्कर्ताहरुलाई पनि एमालेमै फर्काउनुपर्ने बताए।
'अलमलमा परेका र भ्रममा परेका साथीहरु, तानेर लगिएका साथीहरुलाई फर्काउन प्रयास गर्न आग्रह गर्न चाहन्छु। हामी केन्द्रबाट समेत हामी पहल गर्ने छौं,' ओलीले भने।
अहिलेको अवस्थामा कम्तीमा ५१ प्रतिशत नेपाली जनता एमालेको पक्षमा छन् भन्ने सन्देश दिनु जरुरी रहेको ओलीले बताए। 'अहिले कम्तीमा ५१ प्रतिशत नेपाली एमालेको पक्षमा छ भन्ने चाहिएको हो। यो सम्भव छ। तपाईं–हामी महान विचार र उद्येश्य र देशभक्तिपूर्ण सोच, विकासमुखी सोच र समृद्ध नेपाल र सुखी नेपालीको सर्वोपरी आकाक्षां पुरा गर्ने अभियानमा लगेर जानुपर्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।