काठमाडौं– नेकपा एमालेको विधान महाधिवेशनस्थलमा अध्यक्ष केपी शर्मा ओलीलाई 'देवत्वकरण' गरिएको भन्दै भइरहेको आलोचनाको उनले जवाफ दिएका छन्। त्यसलाई उनले आफूहरुमाथिको हमलाको रुपमा अर्थ्याए।
महाधिवेशनस्थलमा ब्यानरदेखि पानीको बोतलमा समेत ओलीलाई प्राथमिकता दिइएकोमा आलोचना भइरहेको छ। विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि छलफलका लागि गठन गरिएका केही समूहमा पनि यो विषयमा कुरा उठेको थियो।
'नेकपा एमालेको महाधिवेशनमा ब्यानर देखिएको रे, झन्डा देखियो रे, अलिक तामझाम देखियो रे, नेतृत्वको विरुद्धमा होइन समर्थनमा कार्यकर्ता बोलेको देखियो रे। अनि छाती पिट्छन् विरोधीहरु। यो हाम्रा विरुद्धको हमलाको विभिन्न रुप हो। हामी व्यक्तिपूजक होइनौं। मूर्तिपूजक होइनौं। हामी धर्मान्धतामा विश्वास गर्दैनौं', उनले भने।
उनले आफूहरु कमिटी प्रणाली, सामूहिक नेतृत्व प्रणाली, छलफलबाट निष्कर्ष निकाल्ने कुरामा विश्वास गर्ने बताए। आफूहरु अध्ययनका साथ छलफलमा जुट्ने ओलीको भनाइ छ। ओलीले आफ्ना विचार र संगठनमाथि हमला भइरहेको कार्यकर्तालाई सुनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।