काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार सेयरबजार उच्च अंकले घटेको छ। आज पुँजीबजार मापक परिसूचक (नेप्से) ५५.९३ अंकले घटेको हो।
गत साताको सुरुआती तीन दिन उच्च अंकले घटेको नेप्सेमा चौथो दिन (बुधबार) ५०. ५८ अंकले सुधार आएको थियो। तर, साताको अन्तिम कारोबार दिन बिहीबार पुन: ३२.५१ अंकले घट्न पुगेको थियो। यो साताको सुरुआत पनि घट्ने क्रमबाटै भएको छ।
आज ५५. ९३ अंकले घटेपछि नेप्से २५७७.४९ विन्दुमा ओर्लिएको छ। कारोबारसमेत चार अर्बमा खुम्चिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्सेमा चार अर्ब ११ करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २३२ वटा कम्पनीका ८९ लाख ४८ हजार ९३७ कित्ता सेयर जम्मा ५२ हजार ३९१ पटक खरिद-बिक्री भएका थिए।
यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ११.०७ अंकले घटेर ४८५.९८ विन्दुमा ओर्लिएको छ। आज सबै उपसमूहको परिसूचक नकारात्मक बनेको नेप्सेले जनाएको छ।
आज मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.९७ प्रतिशतका दरले कमाएका छन्। यता गुह्वेश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.१९ प्रतिशतका दरले गुमाएका छन्।
आज अपी पावर कम्पनीको सेयर सबैभन्दा धेरै १५ करोड छ लाख १६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेसनल हाइड्रोपावर कम्पनी सेयर सबैभन्दा धेरै तीन लाख ६६ हजार ४७९ कित्ता किनबेच भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।