काठमाडौं- नेकपा (एमाले)मा ७० वर्षे प्रावधानको स्पष्ट व्याख्या भएको छ। आफूले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको आइतबार जवाफ दिने क्रममा उपमहासचिव विष्णु पौडेलले ७० वर्षे प्रावधानलाई स्पष्ट पारेका हुन्।
७० वर्षे भनिए पनि एमालेमा अलमल थियो। ७० छोएपछि हो कि पूरा भएपछि हो भन्ने विवाद अलमल रहेको भन्दै पौडेलले त्यसको व्याख्या गरेका हुन्। 'कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष पूरा नहुँदासम्म उम्मेदवार हुन पाउने र कार्यकालको बीचमा ७० वर्ष पूरा भएमा सो कार्यकालभर आफ्नो पदमा रहेर कार्य गर्न पाउने खालको व्यवस्था गर्नुपर्छ,' उनले भने।
यो व्याख्याले वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई सहज हुने भएको छ। आगामी महाधिवेशनबाट उनी नै अध्यक्षमा दोहोरिने आकलन गरिएको छ। तर उनी अध्यक्षमा निर्वाचित भए पनि केही समयमै ७० वर्षे उमेर पार गर्ने भएकाले उनले पद छाड्नुपर्ने बहस हुन थालेको थियो। ओली २००८ फागुन ११ गते जन्मिएका हुन्।
तर पौडेलले ७० वर्षे प्रावधानको व्याख्या गरेपछि अब ओलीले मंसिरमा अध्यक्ष निर्वाचित भएपछि पनि पाँच वर्षे पूर्ण कार्यकाल अध्यक्षकै रुपमा रहन पाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।