काठमाडौं- नेकपा एमालेमा वरिष्ठ उपाध्यक्षको व्यवस्था गरिने भएको छ। आफ्नो प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले अब पार्टीमा एक जना वरिष्ठ उपाध्यक्षको व्यवस्था गरिने बताए।
नवौं महाधिवेशनबाट पारित विधानमा उपाध्यक्षको संख्या ५ जना रहने व्यवस्था थियो। अहिले पनि उपाध्यक्षको संख्या ५ नै रहने भए पनि वरिष्ठ उपाध्यक्ष पनि राखिने भएको हो।
त्यस्तै, नवौं महाधिवेशनबाट पारित विधानमा उपमहासचिव २ जना हुने व्यवस्था थियो। पौडेलले शुक्रबार प्रस्ताव गरेको विधानमा सो पद हटाइएको थियो। तर, आइतबारको जवाफमा उनले एक जना उपमहासचिव राखिने बताए।
उनले सचिवको संख्या ६ जना प्रस्ताव गरेका थिए। अब भने ७ जना राख्ने जवाफ दिएका छन्। यसअघि एमालेमा ५ जना सचिव रहने व्यवस्था थियो।
अब एमालेमा अध्यक्ष १, उपाध्यक्ष ५ (१ जना वरिष्ठ सहित), महासचिव १, उपमहासचिव १ र सचिव ७ जना सहित १५ जना पदाधिकारी हुने उनले बताए। १५ जनाभन्दा ठूलो संख्याको पदाधिकारी बनाउँदा व्यवस्थापन गर्न नसकिने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।