काठमाडौं– न्यादी हाइड्रोपावर लिमिटेडको आईपीओ निष्कासन भएको छ। कम्पनीले आज (शुक्रबार) देखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको हो। कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता सेयर निष्कासनमा ल्याएको छ।
कुल सेयरमध्ये २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता सेयरका लागि मात्रै सर्वसाधरणले आवेदन दिन सक्नेछन्।
कम्पनीले निष्कासन गेरको सेयरमा असोज १९ गतेसम्ममा आवेदन दिन सकिने निष्कासक तथा बिक्री प्रबन्धक ग्लोवल आइएमई क्यापिटलले जनाएको छ। त्यस अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे असोज ३१ गतेसम्म म्याद थप हुने क्यापिटलको भनाइ छ।
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तोकिएका शाखा कार्यालयबाट र मेरो सेयर मोबाइल एप तथा वेबसाइटबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीले निष्काशन गरेको आईपीओलाई केयर रेटिङ नेपालले ’केयरएनपी डबल बी इस्यूअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ।
हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको छ। स्थानियलाई १५ करोड रुपैयाँ, संस्थापक सेयरधनीहरुको लागि ३ करोड रुपैयाँ र सर्वसाधारणलाई २२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।