काठमाडौं- सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालले प्रदेश २ सरकार प्रमुखको शक्ति तथा गरिमामा आघात पुग्नेगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले छापा मारेको भन्दै आपत्ति जनाएका छन्।
बुधबार फेसबुकमार्फत् लालले अख्तियारले भ्रष्टाचारविरूद्ध अुसन्धान गर्न पाउने भएपनि निर्वाचित सरकार प्रमुखको शक्ति तथा गरिमामा आघात पुग्ने गरी छापामारी शैलीमा अनुसन्धानको प्रक्रिया थाल्नु आपत्तिजनक र दुराशयपूर्ण रहेको बताएका हुन्।
‘यस्तो अमर्यादित काम कारबाहीबाट नराम्रो नजीर बस्ने हुँदा आगामी समयमा समेत प्रदेश सरकारहरुमा हिनताबोध हुने भइ विकेन्द्रीकरण, जनसहभागिता र जनकल्याणका कार्यहरूमा प्रतिकूल प्रभाव पर्ने हुन्छ,’ उनले लेखेका छन्।
आयोगको टोलीले बुधबार दिउँसो प्रदेश २ का मुख्यमन्त्री लालबहादुर राउतको कार्यालयमा छापा मारेको थियो।
मुख्यमन्त्री राउतले ‘बेटी पढाउ बेटी बचाउ’ अभियना सञ्चालन गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियारको छापा मारेको हो।
प्रदेश २ सरकारले बालिकालाई पढाउन उत्प्रेरित गर्ने उद्देश्यले साइकल बाँढेको थियो। यसरी बाँढिएको साइकल खरिद प्रकृयामा अनियमिताता भएको उजुरी परेपछि अख्तियारले छापा मारेको हो।
अख्तियारले साइकल खरिद गर्दाका कागजपत्र समेत नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।