काठमाडौं- लगातार तीन दिन उच्च अंकको पहिरो गएको सेयरबजारमा चौथो दिन ब्रेक लागेको छ। साताको चौथो कारोबार दिन आज (बुधबार) नेप्से ५०. ५८ अंकले सकारात्मक बनेको हो।
आइतबारदेखि नेप्से लगातार उच्च अंकले घट्दै आएको थियो। आइतबार ६१.२७ अंकले ओरालो लागेको नेप्से सोमबार ७३.०५ अंक र मंगलबार ७०.०१ अंकले घटेको थियो।
घट्ने क्रममा ब्रेक लाग्दै आज ५०. ५८ अंकले बढेपछि नेप्से २६६५.९४ विन्दुमा उक्लिएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्सेमा पाँच अर्ब दुई करोड ८५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल १८६ वटा कम्पनीमध्ये आज १७३ वटाको सेयर मूल्य बढेको छ भने ११ कम्पनीको मूल्य नकारात्मक बनेको छ।
आज कूल ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर ६३ हजार ९१६ पटक खरिद-बिक्री भएका थिए।
यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ८.५८ अंकले बढेर ५०३.४६ विन्दुमा उक्लिएको छ। आज सबै उपसमूहमा हरियाली छाएको थियो।
अपी पावर कम्पनी र ग्रीन डेभलभमेण्ट बैंक लिमिटेडको कारोबारमा सकारात्मक सर्किट लागेको छ। यता मेगा बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ३.९२ प्रतिशतका दरले गुमाएका छन्।
आज अपी पावर कम्पनीको सेयर सबैभन्दा धेरै २२ करोड ६७ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। सोही कम्पनीको सबैभन्दा धेरै पाँच लाख १४ हजार ४३९ कित्ता तथा मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर सबैभन्दा धेरै दुई हजार ९३२ पटक किनबेच भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।