केपी शर्मा ओलीसँग मंगलबार बोलकोटमा भेट गर्दै कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्की।
काठमाडौं– नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाका ‘दूत’ले प्रमुख प्रतिपक्ष दलका नेता एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नियमितजसो भेटिरहेका छन्। पाँच दलीय गठबन्धन बनाएर प्रधानमन्त्री भएका देउवाले नै ओलीलाई बालुवाटारबाट बाहिर पठाएका थिए।
त्यस यता देउवा आफैँले भने ओलीलाई भेटेका छैनन्। उनले मंगलबार कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई बालकोट पठाए। सरकार गठन यता तेस्रो पटक ओलीलाई भेट्न कार्की बालकोट पुगेका हुन्। यस्तै कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पनि ओलीसँग बारम्बार भेट्ने गरेका छन्।
देउवाले दूत परिचालन गरेर ओलीसँग पटकपटक अनौपचारिक संवाद गर्न थालेपछि सरकारले पूर्णता नपाउँदै गठबन्धन भत्किने आशंका गर्न थालिएको छ। गठबन्धनका दलहरुबीच अमेरिकी आर्थिक सहयोगमा सञ्चालित मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी)लाई संसदबाट पारित गर्ने विषयमा विवाद कायमै छ। ओलीसँगको नियमित भेटघाट एमसीसी पारित गर्नकै लागि अर्को गठबन्धनको तयारी हुनसक्ने विश्लेषकहरुको आकलन छ।
एमसीसीका विषयमा गठबन्धन सरकारको धारणा प्रष्ट नभएको भन्दै ओलीले प्रश्न गर्दै आएका छन्। एमसीसी पारित गर्ने हो वा होइन भन्दै संसदमा पनि उनले जिज्ञाशा राख्ने गरेका छन्। तर, ओली स्वयम्ले पनि एमसीसीबारे स्पष्ट धारणा राखेका छैनन्। एमसीसीकी उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमणका क्रममा गठबन्धनले आफ्नो पोजिसन स्पष्ट पारेपछि मात्रै आफूहरुको धारणा बाहिर ल्याउने बताएका थिए।
यता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना निकटस्थहरुसँग एमसीसीलाई उछालेर ओलीले गठबन्धन फुटाउन प्रयास गरिरहेको आरोप लगाउने गरेको स्रोतले बताएको छ। प्रचण्डले सार्वजनिक रुपमै पनि एमसीसीलाई ‘हतियार बनाएर’ गठबन्धन भत्काउन कतिपय शक्ति लागिरहेको अभिव्यक्ति दिँदै आएका छन्।
गठबन्धनका नेताहरुले पनि देउवा र ओलीको सम्बन्धलाई लिएर शंका गर्न थालेका छन्। एमसीसी पारित गर्नकै लागि प्रचण्डसहित गठबन्धनका अन्य नेतालाई दबाबमा राख्न देउवाले दूतमार्फत छलफल चलाएको हुनसक्ने नेकपा एकीकृत समाजवादीका एक नेताले बताए। ती नेताले भने, ‘एमसीसी पारित गराउन गठबन्धन नेताहरुलाई दबाबमा राख्न पनि देउवाजीले ओलीलाई भेट्न दूत पठाउनुहुन्छ कि जस्तो लाग्छ। यद्यपि, ओलीसँगको भेटमा के कुरा हुन्छन् भन्ने बाहिर आएको छैन।’ देउवाले एक तिरले दुई निसाना लगाउन खोजेको हो कि भन्ने आशंका जन्मिएको उनले बताए।
एमसीसी पारित गराउन अमेरिकाको दबाबका विषयमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले दिएको सार्वजनिक अभिव्यक्तिबाटै प्रष्ट हुन्छ। उनले अमेरिका पुगेर एमसीसी जस्ताको त्यस्तै पारित गर्नुपर्ने बताएका थिए। अमेरिकाले एमसीसी संसोधन गर्न नमान्ने हुनाले जस्ताको त्यस्तै पारित गर्नुपर्ने उनको भनाइ थियो।
गठबन्धनमा सहभागी दलका नेताहरुमा पनि एमसीसीबारे समान धारणा छैन। कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरु नै विभाजित छन्। एउटा पक्ष एमसीसी जस्ताको त्यस्तै पारित हुनु पर्ने र अर्को संशोधन भएर मात्रै पारित गर्नुपर्नेमा छ। तर, जस्ताको त्यस्तै एमसीसी पारित गर्नुपर्ने पक्षको मत बलियो छ। माओवादी र एकीकृत समाजवादी संशोधन गरेर मात्रै पारित गर्नुपर्ने पक्षमा छन्। राष्ट्रिय जनमोर्चाले एमसीसी पारित नै गर्न नहुने बताउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।