काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले संविधान विपरीत काम गर्दा पनि मिडियाले 'पुग्ने गरी' खबरदारी नगरेको बताएका छन्। मंगलबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको छलफलमा ओलीले 'सरकारले संविधान विपरीत काम गर्दा पनि मिडियाका साथीहरुको खबरदारी नपुगेको हो कि?' भनेर प्रश्न गरे।
‘हिजो तपाईंहरुले जनताको हितप्रति सजग रहोस् भनेर खबरदारी गर्नुभयो। खबरदारी गरेन भने सरकार अलि लापरवाही गर्दो रहेछ,’ उनले भने, ‘अहिलेको सरकारप्रति खबरदारी पुगेन की क्या हो? गल्ती गरिरहेको छ। अहिले संविधान मिचिँदा पनि सञ्चारमाध्यम चुप लागेको जस्तो भएको छ।’
ओलीले अहिले मुलुक एउटा गम्भीर मोडमा पुगेको पनि बताए। ‘चलिरहेको संसद् मध्यरात अन्त्य गरेर भोलीपल्ट अध्यादेश जारी गर्ने काम भयो। षडयन्त्रपूर्वक र प्रस्तावका साथ काम भयो,’ उनले भने, ‘निर्वाचन आयोगले कार्यान्वयनका लागि नियमावली पनि बनाइसकेको थियो। निष्कासित मानिसलाई निष्कासित मानिएन।’
आफूले अध्यादेश ल्याउँदा 'उत्पात' मच्चाएकाहरुले नै अहिले त्यही उद्देश्यका साथ अध्यादेश ल्याउने काम गरेको ओलीले टिप्पणी गरे।
‘यो संविधानसम्मत भएन भनेर सम्पादक साथीहरुले लेख्नु नै भयो होला भन्ने लाग्छ,’ उनले भने, ‘एमालेलाई विभाजन गराउने उद्देश्य बाहेक अध्यादेश ल्याउने अरु कुनै कारण नै छैन।’
ओलीले पार्टीको विधान महाधिवेशनबाट पारित हुने नीति र विधि अनुसार नै आगामी मंसिरमा आयोजना हुने पार्टीको दशौं राष्ट्रिय महाधिवेशनले नेतृत्व चयन गर्ने ओलीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।