काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् चालु रहेका बेला सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गर्नु असंवैधानिक र षडयन्त्रपूर्ण रहेको बताएका छन्।
मंगलबार बिहान आफूलाई भेट्न बालकोट पुगेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँग उनले चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर भदौ २ गते बिहानै अध्यादेश ल्याउने काम नै प्रमुख प्रतिपक्षी दलविरुद्धको षडयन्त्र र संविधान विपरीत रहेको समेत बताए।
ओलीका प्रेस सहयोगी रामशरण बजगाईंका अनुसार ओलीले हाल संसद् अधिवेशन चालु रहेकै बेला संसद्मा प्रस्तुत विधेयकको वास्ता नगरी, संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैरकानुनी र दुःषित मनसायबाट अभिप्रेरित, दलीय व्यवस्था र प्रमुख प्रतिपक्षी दलविरुद्ध लक्षित रहेको बताएका छन्।
कानुनमन्त्री कार्कीमार्फत् प्रधानमन्त्रीलाई ओलीले पठाएको सन्देशमा ओलीले भनेका छन्- ' कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार र काम संसद्को हो। संसद् चालु रहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद् बाहेक अन्यत्रबाट हुन सक्दैन।'
संसद्को अधिवेशन चालु नरहेको अवस्थामा तत्काल देशलाई आवश्यक परेको अवस्थामा मात्र राष्ट्रपतिबाट अध्यादेशमार्फत् कानुन सम्बन्धी काम हुन सक्ने भएको ओलीले स्मरण गराएका छन्।
'यस्तो अवस्थामा पार्टी अध्यक्ष केपी शर्मा ओलीले कानुन मन्त्रीसँगको भेटमा उहाँमार्फत् आफ्नो दलको गम्भीर आपत्ति र विरोध रहेको सन्देश प्रधानमन्त्रीसमक्ष पठाउनु भयो', बजगाईंले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।