काठमाडौं– नेपालमा भइरहेको रासायनिक मलको अभाव टार्न सरकारले तत्काल उत्तरी नाका तातोपानी हुँदै १५ हजार मेट्रिकटन (मेटन) रासायनिक मल ल्याउने भएको छ।
दक्षिणी नाकाबाट मल भित्रिन केही समय लाग्न सक्ने र भारत सरकारसँग जीटुजी प्रक्रियामार्फत ल्याउने भनिएको मलसमेत आयात गर्न ढिलाइ हुने हुँदा चीनबाट रासायनिक मल ल्याउन लागिएको हो।
आजभोलि लगाइने तरकारी बालीका लागि मलको अभाव देखिन गएको र गहुँबालीका लागि मौज्दात राख्नुपर्ने भएकाले सरकारले चीनमा उत्पादित रासायनिक मल आयात गर्न लागेको हो। आयात गर्न लागिएको मलमध्ये १० हजार मेटन युरिया र बाँकी ५ हजार मेटन डीएपी रहेको छ।सिल्क मार्केट नामक नेपाली कम्पनीले आयात गर्न लागेको रासायनिक अबको ४ दिनभित्रमा तातोपानी नाकामा आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडको भनाइ छ।
कुनै अवरोधविना नेपाल भित्रने वतातावरण बनेमा १५ दिनभित्र मल आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ।
चीनबाट नेपाल प्रवेश गर्ने तातोपानी नाकामा नेपालतर्फ पहिरोका कारण बाटो अवरुद्ध भएका कारण अहिले एकतर्फी रूपमा मात्र गाडीहरू सुचारु भएकाले आयातमा केही समस्या देखिन सक्ने बताइएको छ।
सरकारी अनुदानको मल विक्रीवितरणको जिम्मा पाएका दुई सरकारी कम्पनी कृषि सामग्री र साल्ट ट्रेडिङ कर्पोरेशनसँग अहिले मलको मौज्दात निकै कम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।