काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले झापाका किसानहरुलाई 'मेगा किसान कार्ड' वितरण गरेको छ।
परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यावसायिक रुपमा कृषि खेती गर्नका लागि हिमशिखर एग्रो एण्ड हर्ब रिसर्च सेन्टर प्रालिसँगको सहकार्यमा झापाको दमकमा मेगा किसान कार्ड वितरण गरिएको हो। उक्त अवसरमा कृषि क्षेत्रको प्रवर्द्धन गर्न वित्तीय साक्षरता कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।
कार्यक्रममा मेगा बैंकको माइक्रो एण्ड एग्रो फाइनान्सिङ विभागका प्रमुख पुण्यप्रसाद खनिया, प्रदेश १ का प्रदेश प्रमुख विवेकबन्धु न्यौपाने, मेगा बैंक दमक शाखाका प्रमुख मोहनप्रसाद अर्याल लगायतले कृषकहरुलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बैंकिङ सेवा सुविधाहरु बचत, ऋण, रेमिट्यान्स, बचत गर्ने उपायहरु, बचत तथा ऋणको महत्त्वको बारेमा प्रकाश पारे। उनीहरुले नेपाल कृषिप्रधान देश भएता पनि कृषिमा आत्मनिर्भर नभएको वर्तमान अवस्थामा आधुनिक ढंगले कृषि व्यवसाय गर्न सके कृषि क्षेत्रमा राम्रो योगदान दिन सकिने र कृषकहरुको आर्थिक जीवनस्तर पनि माथि उठाउन सकिने कुरामा जोड दिएका थिए।
'हिमशिखर एग्रोसँगको सम्झौतापश्चात् मेगा बैंकले हिमशिखर एग्रोसँग आबद्ध ग्रामीण भेगका किसानहरुलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नका लागि साना तथा मझौला कर्जा एवं नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण व्यावसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्दै आएको छ,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मेगा बैंकले कृषकहरुलाई बैंकको किसान क्रेडिट कार्ड उपलब्ध गराउँदै आएको छ। किसान कार्डमार्फत् कृषकहरुले आफूलाई आवश्यक परेको कृषि सामग्री, बीऊ, मल, कीटनाशक औषधि लगायतका सामानहरु नजिकको पसलबाट खरिद गर्न सक्ने छन्। 'किसान क्रेडिट कार्ड मेगा बैंकले कृषकहरुलाई जारी गरेको पहिलो अत्याधुनिक सेवा हो, जसले गर्दा किसानहरुलाई बैंकिङ कारोबार गर्न सहज र सरल भएको छ,' बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।