काठमाडौं– करिब साढे २ वर्षअघि नै तीनकुनेमा भएको एक कफी गफमा संघीय समाजवादी फोरमका सांसद अभिषेकप्रताप साहले भनेका थिए, ‘अर्को चुनाव म काँग्रेसको टिकट लिएर लड्छु।’ त्यसबेलाचाहिँ उनले मसँग एउटा सर्त राखेका थिए कि यो कुरा औपचारिक घोषणा नगरुन्जेल बाहिर नजाओस्।
अन्ततः साहले फोरम छाडे। मंगलबारको कुराकानीमा उनले भने, ‘म अब काँग्रेस प्रवेश गर्दैछु।’ साढे २ वर्ष अघिको कुराकानीमा फोरम छाड्नुबारे उनले भनेका थिए, ‘म यतिखेर मधेसवादी दलमा छु। मधेसका मुद्दा स्थापित गर्न लागिपरेको छु। तर संविधान जारी भएपछि मधेसवाद भन्ने रहँदैन। पार्टीको विचारधारा फेरिनुपर्छ, पूँजीवादी, समाजवादी वा वामपन्थी के हुने? म लोकतन्त्रवादी हुँ, त्यसैले काँग्रेसमै जान्छु।’
प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री शशांक कोइराला साहलाई पार्टीमा भित्र्याउन बिहीबार कपिलवस्तु जाँदैछन्। ‘त्यो कार्यक्रम यति विशाल हुने छ कि, तपाईहरु कल्पनासम्म गर्न सक्नु हुन्न। ममात्रै होइन, मेरा धेरै शुभचिन्तक त्यसदिन काँग्रेसमा समाहित हुँदै छौ,’ साहले दाबी गरे।
कपिलबस्तु क्षेत्र नम्बर ३ बाट २ पटक संविधानसभा सदस्य निर्वाचित भएका साह अघिल्लो संविधानसभाका कान्छा सदस्य हुन्। उनी अघिल्लोपटक संविधान जारी नगरी संविधानसभा विघटन गर्न पाईदैन भनेर अनसन बसेका कारणले चर्चित बनेका थिए। तर भारतीय नाकाबन्दीको खुलेर समर्थन गरेपछि विवादमा तानिए।
कांग्रेसमै प्रवेश गर्ने थप कारणबारे उनले त्यसबेलै भनेका थिए, ‘मेरो पारिवारिक लिगेसी पनि जोडिएको छ। दिपकुमार उपाध्यायलाई म अंकल भन्छु। हाम्रो पारिवारिक सम्बन्ध छ।’ काँग्रेस नेता उपाध्याय पनि भारतका लागि नेपालको राजदूत छाडेर कपिलवस्तुबाट आगामी प्रतिनिधिसभाको चुनाव लड्ने र प्रदेश–५ को मुख्यमन्त्री बन्ने ध्याउन्नमा छन्।
आफ्ना हजुरबुवा शिवप्रसाद साह २०१५ सालमा बिपी कोइराला नेतृत्वको सरकारमा अर्थ राज्यमन्त्री रहेको उल्लेख गर्दै अभिषेकले भने, ‘कांग्रेससँगको हाम्रो परिवारको लिगेसी निकै पुरानो हो । पछि कोइराला परिवारले मेरो हजुरबुवाको योगदानको राम्रोगरी कदर गर्न सकेन। त्यसैले बुवा राप्रपाको राजनीतिमा लाग्नुभयो।’ अभिषेकका बुवा अजयप्रसाद साह २०५६ सालमा राप्रपाबाट सांसद थिए।
साढे २ वर्षअघि नै पार्टी छाड्ने मनस्थिति बनाएका साह अहिले भने आफ्नो निवर्तमान पार्टीको समेत आलोचना गर्छन्। ‘समानुपातिक संसद मनोनित गर्ने बेलामा संसदहरुसंग पैसा लिने, पैसा नभएको खण्डमा संसदहरुको नाम रहेको जग्गा बिक्री गराई पैसा असुल्ने जस्ता क्रियाकलाप विगत ४ वर्षदेखि मैले आफ्नै आँखाबाट देख्दै आएको छु। पार्टीले संघीयताको कुरा उठाएको भएता पनि पुरै शक्ति अध्यक्षमा मात्रै केन्द्रित राख्ने जस्ता प्रवृति हाबी रहेको मैले महशुस गर्दै आएको छु’ पार्टी परित्यागको घोषणामा उनले भनेका छन् ।
उनी फोरम अध्यक्ष उपेन्द्र यादवप्रति पनि आक्रामक देखिएका छन्। ‘अध्यक्षज्यू को व्यवहार सत्तामा जाँदा बेग्लै हुने अनि सत्ता बाहिर हुँदा आफूलाई दुनियाँकै निरिह व्यक्ति जस्तो देखाउने दोहोरो चरित्र भएको मैले पाए। मधेश आन्दोलनलाई पुरै मधेशी नेताहरु ले आफ्नो व्यक्तिगत सम्पत्ति मात्रै बढाउन प्रयोग गरे। मधेश आन्दोलनभन्दा अगाडि र वर्तमानको सम्पत्ति छानबिन गर्ने हो भने सबै मधेसी नेताको असल चरित्र प्रष्ट हुन्छ । मधेश शब्द यी नेताहरुका लागि दोहन गर्ने शब्द मात्रै रहेको मेरो स्पष्टोक्ति छ। मधेसका शहिदहरुका बाल बच्चाहरुका लागि कुनै पनि पैकेज अहिले सम्म कुनै पनि पार्टीले नदिएको त्यो पिडा पनि मैले सर्वसाधारण हरुलाई जानकारी गराउन चााहन्छु,’ पार्टी परित्यागको विज्ञप्तीमा उनले भनेका छन्।
अध्यक्षले यादव र मुस्लिम समुदायलाईमात्र च्यापेको, पार्टीमा चरम गुटबन्दी रहेको कारणले पनि आफूले पार्टी परित्याग गरेको उनले बताए। ‘नेतृत्व तहको भ्रष्टाचार, पार्टीभित्रको गुटबन्दी र निश्चित समुदायलाईमात्र च्याप्ने अध्यक्षको प्रवृत्तिका कारण पनि म फोरममा रहन सकिनँ,’ उनले भने। फोरम पटकपटक सत्तामा जाँदा पनि युवा तथा लोकप्रिय सांसदमा गनिएका साह मन्त्रीबाट बन्चित रहे।
'मधेसलाई सबैभन्दा बढी गाली गर्ने एमालेसँग पार्टी अध्यक्षको हिमचिम बढी देखिएको कारण पनि पार्टी छोड्न लागेको हुँ,' साहले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।