काठमाडौं– ठूलो दुर्घटनाबाट जोगिन सफल बुद्ध एयरको काठमाडौंबाट विराटनगरका लागि उडेको जहाजका यात्रु प्रताप लिम्बूले आफूले जीवनकै आशा मारिसकेको बताएका छन्। दुर्घटना टरेपछि आफ्नो अनुभव सुनाउँदै उनले जीवनको आशा त्यागेर घरपरिवारलाई मेसेज पठाएको बताएका छन्।
उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘मैले बाँच्नु यत्ति नै रहेछ भनेर मेसेज लेखिसकेको थिएँ।’
बिहान ८ः०५ को बुद्ध एयरको उडानबाट काठमाडौंदेखि विराटनगरका लागि उडेको जहाज ल्यान्ड हुन नसकेपछि काठमाडौं फर्किएको थियो। काठमाडौं फर्केर लामो समयको संघर्षपछि क्याप्टेन एजी शेर्पा सकुशल अवतरण गराउन सफल भएका थिए।
लिम्बूले विराटनगरबाट फर्किँदा पनि आफूलाई डर नलागेको तर, काठमाडौंमा पनि घुमाउन थालेपछि मनमा चिसो पसेको बताए। सेना र प्रहरी विमानस्थलमा देखिन थालेपछि भने आफू दुर्घटना नै हुन्छ भन्ने निर्क्योलमा पुगेको उनको अनुभूति छ।
उनी भन्छन्, ‘काठमाडौं आएर घुमाएको घुमायै गरेपछि मनमा चिसो लाग्न थालिगयो, मुनि हेर्दा नेपाली सेना र सुरक्षाकर्मी रेडि अवस्थामा हुनुहुन्थ्यो। त्यसपछि जिन्दगी यत्ति नै रहेछ, प्लेन दुर्घटना हुन्छ भन्ने नै भयो।’
आफूहरुलाई एयरहोस्टेजले निकै ढाडस दिएको उनले बताएका छन्। उनीहरुप्रति अनुग्रहित हुँदै उनले भने, ‘त्यत्तिकै एयरहोस्टेज बन्ने रहेनछन्। एयरहोस्टेजले धेरै राम्रो एड्भाइस दिनुभयो। हामी सकेसम्म बचाउँछौं भनिरहनुभयो।’
अरुलाई त्यसरी सान्त्वना दिइरहेका उनीहरु आफैं पनि रोइरहेको उनले देखे। बाहिर दह्रो भएर प्रस्तुत भएपनि आँखामा आँशु टिलपिलाएको उनले बताए।
काठमाडौंमा आएर इन्धन सकेर ल्यान्ड गर्ने तयारी रहेको आफूलाई क्याप्टेनले जानकारी दिएको बताए। उनले भने, ‘फ्यूल सकाएपछि आगो लाग्दैन। त्यसैले फ्यूल सकाउने प्रयास गर्दैछौं भन्नुभयो। पानी छरेर त्यसमाथि फर्म राखेर तपाईंलाई सेफल्यान्डिङ गर्छौं भन्दै हुनुहुन्थ्यो।’
अन्तिममा एकपल्ट प्रयास गर्छु भन्दै पाइलट शेर्पाले गरेको साहसले आफूलाई जोगाएको उनको भनाइ छ।
उनको अनुभूति यस्तो छ :
बुद्ध एयरको बिहान ८ : ०५ फ्लाइटमा हामी विराटनगर गयौं। त्यहाँ पुगेपछि ल्यान्ड हुन सकेन। त्यसपछि हामीले सोध्यौं– ल्यान्डिङ किन भएन? अलिकति जहाजमा समस्या छ भन्नुभयो। त्यहाँ पनि ल्यान्डिङ गर्न क्याप्टेनसाबले धेरै दुःख गर्नुभयो। नसकेपछि काठमाडौं ब्याक गर्नुभयो। काठमाडौं आउन्जेल त म ढुक्क थिएँ। काठमाडौं आएर घुमाएको घुमायै गरेपछि मनमा चिसो लाग्न थालिगयो। मुनि हेर्दा नेपाली सेना र सुरक्षाकर्मी तयारी अवस्थामा हुनुहुन्थ्यो। त्यसपछि जिन्दगी यत्ति नै रहेछ, प्लेन दुर्घटना हुन्छ भन्ने नै भयो।
सिनियर क्याप्टेन एजी शेर्पा हुनुहुँदो रहेछ। जहाजमा केही पनि भएको छैन। ल्यान्डिङ गर्छौं भनेर भन्नुभयो, ल्यान्डिङ भएन। प्लेनमा खैलाबैला भयो। हामीले ढोका खोल्नुहोस्, हामफाल्छौं भन्यौं। एयरहोस्टेजले धेरै राम्रो एड्भाइस दिनुभयो। हामीले सकेसम्म बचाउँछौं भन्नुभयो। त्यसपछि लाग्यो– त्यत्तिकै एयरहोस्टेज बन्ने रहेनछन्।
उहाँहरुले घुमाउनुको कारण इन्धन सकाएपछि आगो लाग्दैन। त्यसैले इन्धन सकाउने प्रयास गर्दैछौं भनेर दिनुभयो। त्यसपछि पानी छरेर त्यसमाथि फर्म राखेर तपाईंलाई सेफल्यान्डिङ गर्छौं भन्नुभयो।
अन्तिममा क्याप्टेनले ट्राइ गर्छु भन्दा ल्याण्डिङ भइदियो भगवानको कृपाले। प्लेनमा एक/दुई जना बेहोस भए। त्यो अवस्थामा जो पनि बेहोस हुन्छ। जति दह्रो मन भएको मान्छे पनि आत्तिन्छ।
एयरहोस्टेज रोइरहेका थिए। आँखामा आँशु थियो। आजको यात्रामा बाँच्न सफल भयौं। तर, मैले घरमा मेसेज लेखिसकेको थिएँ– बाँच्नु यत्ति नै रहेछ भनेर।
स्रोत : धर्मराज ढकाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।