काठमाडौं– देव आनन्द बलिउडका आफ्ना समकालीन कलाकारभन्दा अलग थिए। बलिउडमा थुप्रै अभिनेता आए। तर, तीमध्ये केही मात्रै छन्, जसको बारेमा कुरा नगर्दा हिन्दी फिल्मको इतिहास नै अधुरो रहन्छ। देव आनन्द पनि यस्तै एक कलाकार थिए।
२६ सेप्टेम्बर अर्थात् देव आनन्दको जन्म दिए। सन् १९२३ मा आजकै दिन भारतको पञ्जावस्थित गुरदासपुरको एक मध्यम वर्गीय परिवारमा उनले जन्म लिएका थिए। उनको असली नाम भने धर्मदेव पिशोरीमल आनन्द थियो।
आफ्नो समयमा फेसन आइकन रहेका देव आनन्दलाई लिएर थुप्रै किस्सा चर्चित छन्। तीमध्ये खास किस्सा उनको कालो कोटसँग जोडिएको छ। देव आनन्दले एक समय कालो कोट र सेतो सर्टलाई यति चर्चित बनाइदिए कि मानिसले उनकै जस्तो फेसन अपनाउन थालेका थिए।
आनन्दको प्रभाव यति थियो कि उनले लगाएको कपडाको शैली, रङलगायतको अनुसरण गर्न थालियो। एक समय यस्तोसम्म पनि आयो कि उनलाई सार्वजनिक स्थानमा कालो कोट र सेतो सर्ट लगाउनमै प्रतिबन्ध लगाइयो। उनको कालो कोट लगाउने शैली र त्यो फेसनलाई लिएर केही युवतीले आत्महत्या गरेको घटना बाहिरिएपछि उनीमाथि सार्वजनिक स्थानमा यो पोशाक लगाउन प्रतिबन्ध गरिएको थियो।
हिन्दी सिनेमाका दर्शकलाई ६ दशकसम्म प्रभाव पार्न सफल देव आनन्दले अभिनेता बन्न भने धेरै संघर्ष गरेका थिए। उनी आफ्नो ठाउँबाट मुम्बई पुग्दा उनको साथमा केवल ३० रुपैयाँमात्र थियो।
अंग्रेजी साहित्यमा उनले सन् १९४२ मा स्नातक पूरा गरिसकेका थिए। उनी थप पढ्न चाहन्थे। तर, उनका बुबाले आफ्नो परिवारसँग आनन्दलाई पढाउन थप पैसा नभएको बताइदिए। यदि उनी पढ्न चाहन्थे भने उनले आफैंले कमाएर पढ्नुपर्ने बाध्यता थियो।
बुबाले उनलाई पढाउन नसक्ने भनेसँगै उनको बलिउडको यात्रा सुरु भएको थियो। सन् १९४३ मा आफ्नो सपना पूरा गर्न उनी मुम्बई पुगे। उनीसँग न बस्ने ठेगाना थियो, न के खाने टुंगो। उनी मुम्बई पुगेर रेलवे स्टेसनको अघिल्तिर रहेको सबैभन्दा सस्तो होटलमा कोठा भाडामा लिएर बस्न थाले। कोठामा उनीसँगै अन्य तीन जना बस्थे।
धेरै दिन त्यही कोठामा बित्यो। उनीसँग भएको पैसा पनि सकिँदै गयो। तब उनले आफू मुम्बईमा बस्नुपर्ने भए काम गर्नुपर्ने र पैसा कमाउनुपर्छ भन्ने ठाने। उनले आफ्नो जीवनी ‘रोमान्सिङ विथ लाइफ’मा पनि यो कुरा बताएका छन्।
त्यत्तिनै बेला आनन्दलाई सैनिक अफिसरहरुको क्लर्कको जागिर मिल्यो। यो जागिरमा उनले सैनिकका चिठ्ठी उनको परिवारलाई पढेर सुनाउनुपर्ने थियो।
यो कामबाट आनन्दलाई मासिक १६५ रुपैयाँ तलब मिल्थ्यो। जसबाट उनी ४५ रुपैयाँ घर पठाइदिन्थे। एक वर्षसम्म उनले यहि काम गरे। त्यसपछि उनी आफ्ना दाई चेतन आनन्दकोमा पुगे, जो भारतीय जन नाट्य संघसँग आवद्ध रहेर काम गरिरहेका थिए। चेतनले उनलाई पनि आफूसँगै नाटकमा लिन थाले। आनन्द विभिन्न नाटकहरुमा ससाना भूमिकामा देखिन सुरु गरे।
भाग्यले साथ दिएको भनौं। नाटकमा काम गर्न थालेको छोटो समयमै आनन्दलाई प्रभात टाकिजले निर्माण गरिरहेको फिल्म ‘हम एक हैं (१९४६)मा अभिनेताको रुपमा काम गर्ने प्रस्ताव आयो। भारतको पुनामा फिल्म सुटिङ हुँदै थियो। छायांकनकै क्रममा उनले गुरु दत्तलाई भेटे, जो आनन्दको जीवनभर मित्रको रुपमा रहे।
आनन्दको जीवनमा सबैभन्दा ठूलो मोड तब आयो जब त्यत्ति बेलाको सबैभन्दा ठूलो र चर्चित निर्माण कम्पनी बम्बे टाकिजले ‘जिद्दी (१९४८)’मा काम गर्न उनलाई प्रस्ताव गर्यो। यो फिल्म त्यत्ति बेला सर्वाधिक हिट फिल्म थियो। त्यसपछि आनन्दले निरन्तर अशोक कुमारसँग काम गरिरहे। आनन्दलाई कुमारले आफ्ना हरेक फिल्मको हिरोको रुपमा लिए।
बम्बे टाकिजसँगको सहकार्यको केही समयपछि उनले सन् १९४९ मा आफ्नै निर्माण कम्पनी नवकेतनको सुरुवात गरेका थिए। आफ्नो कम्पनीको पहिलो फिल्म ‘बाजी (१९५१)’को निर्देशकको जिम्मा उनै मित्र गुरु दत्तलाई दिए।
‘बाजी’ले त झन् यसअघिका सबै चर्चालाई उछिन्यो। फिल्म सर्वाधिक हिट भयो। महिनौंसम्म थिएटरमा लागिरह्यो। यो फिल्मले देव आनन्दलाई सुपरस्टारको रुपमा चारैतिर चिनाइदियो।
–भास्करबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।