काठमाडौं– निर्वाचन आयोगले चुनाव चिह्न दर्ताका लागि दिएको समय सीमाभित्र छुट्टाछुट्टै चिह्न दर्ता गराएका कारण एमाले र माओवादी केन्द्र सूर्य चिह्नमा निर्वाचन लड्न नपाउने भएका छन्।
आयोगले गत भदौ ११ गतेसम्म एकल चुनाव चिह्नमा जानसक्ने दलहरुलाई समेत मध्येनजर गर्दै निर्वाचन चिह्न दर्ता गराउने समय सीमा दिएको थियो।
माओवादी केन्द्र र एमालेबीच तत्कालिन अवस्थामा तालमेलको प्रयास नभएकाले उनीहरुले साबिकको सूर्य र हसिँया हतौडा चिह्न दर्ता गराएका थिए। 'एकल चुनाव चिह्नमा निर्वाचन सहभागी हुने दलहरुले भदौ ११ भित्र निर्वाचन आयोगमा चिह्न दर्ता गराउनुपर्थ्यो।
'उहाँहरुले छुट्टाछुट्टै निर्वाचन चिह्न दर्ता गराउनुभएको छ, अहिले एउटै चुनाव चिह्नमा निर्वाचनमा गए जसको चुनाव चिन्ह लिएर विजेता भएको छ, त्यो उम्मेदवार त्यही पार्टीको हुन्छ,' निर्वाचन आयोगका प्रवक्ता नवजराज ढकालले भने।
हाल सूर्य चिन्हमा माओवादीको उम्मेदवार विजयी भएको स्थितिमा कानूनी रुपमा एमालेको उम्मेदवारमा गणना हुने भएपछि एक चुनाव चिह्नमा माओवादी केन्द्र र एमाले निर्वाचनमा नजाने भएका हुन्। माओवादी केन्द्र र एमालेका नेताहरुले यो विषय पछि थाहा पाएकाले सोमबार एकल चुनाव चिह्नमा जाने सहमति गरे पनि मंगलबार भने छुट्टाछुट्टै निर्वाचन चिह्नमा चुनावी मैदानमा उत्रने सहमति गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।