काठमाडौं- साहित्यकार, लेखक तथा समाजसेवी केशवमणि आचार्य दीक्षितको ८८ वर्षको उमेरमा निधन भएको छ। पछिल्लो समय स्वासप्रश्वासमा देखिएको समस्यापछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो।
नेपाली राजनीति, पूर्वीय दर्शन तथा इतिहास लेखनमा कलम चलाउँदै आएका केशवमणिको सोमबार निधन भएको छोरा तारकमणि दीक्षितले जानकारी दिए।
नेपाली भाषाविद् सरदार राममणि आचार्य दीक्षितका कान्छा छोरा केशवमणिले रुपन्देहीमा शिक्षाको उज्यालो छर्न विशेष योगदान गरेका थिए। उनको १८ वटा किताव प्रकाशित भइसकेको छ।
रुपन्देहीको मणिग्राममा राममणि बहुमुखी क्याम्पस स्थापना गर्न उनको विशेष योगदान थियो। २०५६ सालमा उनले लेखेको ‘बिपी कोइरालाका तीन उपन्यास एक विहङ्गम दृष्टी’ र २०२९ सालमा प्रकाशित ‘पुराना सम्झना’ चर्चित बनेका थिए।
श्री ३ महाराज चन्द्रशमशेर राणाको पालादेखि आफ्ना पिता राममणिले बटुलेको शब्दलाई नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो ‘नेपाली भाषाको शब्दकोष’ निकाल्ने तयारीमा रहेको बेला उनको निधन भएको हो।
‘किताबको सबै काम सम्पन्न भएर छाप्ने तयारीमा थियौं,’ छोरा तारकले भने,‘तर, अन्तिम चरणमा पुग्दा उहाँ रहनु भएन।’
उनको श्रीमति लिला, दुई छोरा गिरिशमणि र तारकमणि दीक्षित तथा छोरीहरु लैला गौतम र शोभना अर्याल छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।