काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले साना कृषक तथा उद्यमीहरुको कृषि तथा उद्यम व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले भोजपुर नगरपालिकासँग सम्झौता गरेको छ।
सम्झौतापत्रमा मेगा बैंकका माइक्रो फाइनान्सिङ विभागका प्रमुख पुण्यप्रसाद खनियाँ र भोजपुर नगरपालिका मेयर कैलाश आलेले हस्ताक्षर गरे।
हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका विभागीय प्रमुख खनियाँले कृषकहरुलाई आधुनिक ढंगले कृषि कार्यलाई व्यावसायीकरण गर्न बैंकको शाखा कार्यालयमार्फत् छिटोछरितो ढंगले प्राथमिकताका साथ कर्जा दिने प्रतिबद्धता व्यक्त गरे।
भोजपुर नगरपालिकाका मेयर आलेले मेगा बैंकसँगको सम्झौतापश्चात नगरपालिकाभित्र रहेका साना किसान तथा उद्यम व्यवसायीहरुले सहुलियत ब्याजदरमा कर्जा लिइ आफ्ना व्यवसायलाई वृद्धि गरी उत्पादकत्व बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
भोजपुर नगरपालिकासँगको सम्झौतापश्चात् मेगा बैंकले नगरपालिकाका किसानहरुलाई कृषि उत्पादनमा आवश्यक कर्जा लगानी गर्नको लागि नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण व्यावसायिक कृषि तथा पशुपालन कर्जा प्रदान गर्नेछ।
साथै, बैंकले उक्त कृषकहरुलाई मेगा किसान कार्डसमेत उपलब्ध गराउने जनाएको छ। उक्त कार्डमार्फत् कृषकहरुले आफूलाई आवश्यक परेको कृषि सामग्रीहरु, बीउ, मल, किटनाशक औषधि लगायतका सामानहरु नजिकको पसलबाट खरिद गर्न सक्नेछन्। मेगा किसान कार्ड मेगा बैंकले कृषकहरुलाई जारी गरेको पहिलो आधुनिक बैंकिङ सेवा हो, जसले किसानहरुलाई कृषि कर्जाको सदुपयोग गर्दै बैंकिङ कारोबार सहज र सरल तरिकाले गर्न सहयोग हुने बैंकको विश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।