काठमाडौं– लेखक रमेश रुछेन राईद्वारा लिखित ‘श्वेतशार्दूलः मदन भण्डारीको जीवन’ सार्वजनिक भएको छ। पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार पुस्तक विमोचन गरेका हुन्।
सांग्रिला बुक्सद्वारा प्रकाशित यस पुस्तक नेपाली राजनीतिका प्रखर तथा गतिशिल पात्र मदन भण्डारीको जीवनमार्फत वाम राजनीतिको विगत हेर्ने एउटा प्रयास हो।
राजनीति र विकासका स्वतन्त्र अध्येता राई मोफलसलमा बसेर नेपाली राजनीति र विकासमा विगतको खोजी र वर्तमान निर्माणसम्बन्धी अध्ययनमा संलग्न छन्।
पुस्तकमा टिप्पणी गर्दै नेकपा (एमाले)की नेता विन्दा पाण्डेले मदन भण्डारीको जीवनी आजका पुस्ताले पढ्नै पर्ने सामग्री भएको र त्यसका लागि यो पुस्तक धेरै सहयोगी हुने बताइन्।
पुस्तकका विभिन्न खण्डमा भएका प्रसंगहरुलाई उल्लेख गर्दै नेता पाण्डेले मदन भण्डारी प्रशंसा भन्दा स्वच्छ आलोचनालाई प्रोत्साहन गर्ने व्यक्ति भएको बताइन्। पुस्तक मदनका अनुयायी मात्रै होइन, आलोचकका लागि पनि निकै पठनिय रहेकोमा उनले जोड दिइन्।
अर्का टिप्पणीकार पूर्व सभामुख दमननाथ ढुंगानाले नेपाली कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीको योगदान बुझ्न युवा पुस्ताले यो पुस्तक पढ्नै पर्ने बताए। उनले व्यवहारिक राजनीति मदन भण्डारीको विशेषता भएको बताउँदै आजको वामपन्थी आन्दोलनलाई थुप्रै मदनहरुको आवश्यकता रहेको बताए।
लेखकले निकै मिहिनेतका साथ पुस्तक लेखनको काम गरेको बताउँदै उनले मदनको नाम लिइँरहँदा मदन कसरी मदन भए भनेर बुझ्न यो पुस्तकले सघाउने धारणा व्यक्त गरे।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस्तकका लागि लेखकले गरेको मिहिनेत प्रशंसनिय रहेको बताए। लेखकले उल्लेख गरेका सन्दर्भ सामग्री, पुगेका ठाउँहरु, भेटेका मान्छेहरुले पुस्तकलाई तथ्यसँग नजिक्याएको उनको भनाइ थियो।
मदन भण्डारीका बारेमा अध्ययन, अनुसन्धान र खोज गरेर पुस्तक लेखेर लेखक राईले वामपन्थी आन्दोलनलाई गुन लगाएको ओलीको धारणा थियो। युवा पुस्ताका लागि यो पुस्तक बिशेष पठनिय रहेको उनको भनाइ थियो।
मदन भण्डारीका बारेमा लेखिन बाँकी धेरै भएकाले यो पुस्तक नै सबैथोक हो भन्ने भ्रममा आफू पनि नरहेको र अरुलाई पनि नरहन पुस्तकका लेखक राईले सचेत गराए। पुस्तकका लागि सहयोग गर्नै सबैमा आभार व्यक्त गर्दै राईले आलोचनात्मक टिप्पणी आश गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।