काठमाडौं- विकास बैंकहरुले एक साताको अवधिमै कर्जा (ऋण) साढे पाँच अर्बले रुपैयाँले बढाएका छन्। सोही अवधिमा निक्षेप (बचत) साढे दुई अर्ब रुपैयाँले बढाएका छन्।
डेभलपमेण्ट बैंकर्स एसोसिएसन अफ नेपालले दिएको जानकारीअनुसार यो साता १५ वटा विकास बैंकले सर्वसाधारणबाट दुई अर्ब ४८ करोड दुई लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरेका छन्।
यससँगै विकास बैंकहरुले संकलन गरेको कूल निक्षेप चार खर्ब ५१ अर्ब ८१ करोड ९४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो साता यस्तो रकम चार खर्ब ४९ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ रहेको थियो। अघिल्लो साताको तुलनामा यो साता निक्षेको आकार ०.५५ प्रतिशतले बढेको एसोसिएसनले जानकारी दिएको छ।
यस्तै यो साता कर्जाको आकार पाँच अर्ब ५१ करोड ८० लाख ९० हजार रुपैयाँले बढाएका छन्। यससँगै १५ वटा विकास बैंकले प्रवाह गरेको कूल कर्जा रकम चार खर्ब दुई अर्ब ४० करोड ३९ लाख रुपैयाँ पुगेको एसोसिएसनले जनाएको छ। अघिल्लो साता तीन खर्ब ९६ अर्ब ८८ करोड ५८ लाख रुपैयाँ रहेको कर्जाको आकार यो साता १.३९ प्रतिशतले बढेको हो।
एसोसिएसनका अनुसार एक हप्ताको अवधिमा राष्ट्रियस्तरका विकास बैंकहरुको निक्षेप ०.५९ प्रतिशतले बढ्दा क्षेत्रीयस्तरका बैंकहरुको भने यथावत रहेको छ। यस्तै राष्ट्रियस्तरका विकास बैंकहरुको कर्जा १.४६ प्रतिशत र क्षेत्रीयस्तरका विकास बैंकहरुको कर्जा ०.४५ प्रतिशतले बढेको छ।
नेपालमा हाल १८ वटा विकास बैंक सञ्चालनमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।