काठमाडौं- नबिल बैंक र नेपाल उद्योग परिसंघ-वुमन लिडरसिप फोरम (सीएनआई-डब्लूएलएफ)ले महिला उद्यमीहरुका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताका लागि चालेका कदम र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो। सीएनआई-डब्लूएलएफ संयोजक छाया शर्मा, सदस्य आशा राणा अधिकारी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी लगायत उपस्थित रहेको उक्त कार्यक्रममा विभिन्न महिला उद्यमी तथा नेतृत्वदायी महिलाहरुको सहभागिता रहेको थियो।
सीएनआई-डब्लूएलएफ संयोजक शर्माले नबिल बैंकको दिगो बैंकिङ तथा अन्य महिला केन्द्रित पहलहरुको प्रशंसा गरिन्। यसले महिलाको सामाजिक रुपान्तरणमा योगदान पुग्ने विश्वास उनले व्यक्त गरिन्। उनले वित्तीय पहुँच सँगसँगै वित्तीय साक्षरतालाई पनि अगाडि बढाउन सुझाव दिइन्।
बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले दिगो बैंकिङमार्फत बैंकले उद्यमशीलताको विकास तथा वित्तीय पहुँचलाई गाउँ-गाउँमा पुर्याएर त्यहाँ उद्यमीहरुको सिर्जना गरी दिगो विकासमा टेवा पुर्याउने लक्ष्य लिएको बताए।
दिगो बैंकिङ तथा यस अन्तर्गतका नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जाको बारेमा नबिल दिगो बैंकिङका प्रबन्धक लिलाप्रसाद ओझा र साना तथा मझौला कर्जाअन्तर्गतका महिला केन्द्रित कर्जा तथा अन्य बैंकिङ सुविधाको बारेमा साना तथा मझौला कर्जा/लघुवित्त विभाग प्रमुख निरजकुमार बस्नेत डनिलले प्रकाश पारेका थिए।
नबिलले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको थियो। संयुक्त राष्ट्र संघको दिगो विकासको लक्ष्यलाई सघाउन विपन्न तथा ग्रामीण वर्गलाई लक्षित गरी दिगो बैंकिङ कार्यक्रम सुरु गरेको बैंकले यस कार्यक्रमअन्तर्गत नबिल किसान कर्जा र नबिल उद्ममशील कर्जा प्रवाह गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।