काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको लक्ष्य अनुसार नै आगामी चैत्र मसान्तभित्र सबै नागरिकलाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताएका छन्।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले सरकारले जनताको जीवन रक्षा गर्ने कामलाई पहिलो कर्तव्य सम्झेर सबै नागरिकलाई कोभिडविरुद्धको खोप पुर्याउने अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाइरहेको दाबी समेत गरे।
मंगलबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा पुगेका इन्टरनेसनल कमिसन अफ जुरिष्ट्स, एडभोकेसी फोरम, एम्नेष्टि इन्टरनेसनल नेपाल, जुरी नेपाल र नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा)का पदाधिकारीहरूसँगको सामूहिक भेटमा उनले आफूहरू सरकारमा आउँदा मुलुकमा कोभिडको ठूलो आतंक रहेको र हाल आएर त्यसलाई सामान्य अवस्थामा पुर्याउन सफल भएको दाबी गरे।
मन्त्री कार्कीले सरकार जनतालाई कोभिडबाट मुक्त गर्ने र मुलुकमा सुशासन कायम गर्दै दिगो शान्ति र दिगो आर्थिक विकासको कामलाई अगाडि बढाउने काममा अग्रसर भइरहेको बताए।
उनले मुलुकमा राजनीतिक स्थिरता कायम गरी मुलुकलाई दिगो आर्थिक विकासको बाटोमा अगाडि बढाउन सरकारलाई साथ, सहयोग र समर्थन गर्न पनि सबैलाई आग्रह गरे।
मन्त्री कार्कीले वर्तमान सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन पनि गम्भिरतापूर्वक काम गरिरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।