काठमाडौं- ‘कालिगण्डकी बचाऊ अभियान’ले काव्यात्मक रुपमा थालेको ‘कालिगण्डकी नदी सप्तक श्रृङ्खला’को पहिलो कविताको रुपमा माधव घिमिरेको कविता प्रस्तुत भएको छ।
कलात्मक अभिव्यक्तिको रुपमा जागरण जगाउने तथा मानिसलाई कालिगण्डकीको महत्त्व र यसको दोहनको विषयमा अवगत गराउने हेतुले सुरु भएको अभियानअन्तर्गतको नदी सप्तक श्रङ्खलाको पहिलो कविताको रुपमा घिमिरेको कविता प्रस्तु भएको हो।
नेपालमा मात्र नभएर विश्वभरकै नदीहरुमाझमा छुट्टै परिचय बोकेको नदी कालिगण्डकीमाथि अवैधरुपमा दोहन भइरहँदा कवितामार्फत् यसको विभिन्न पाटाहरुबारे आममानिसबीच चेतना फैलाउन नदी सप्तक सुरु गरिएको छ। कालिगण्डकीको पवित्र मानिएको जल प्रतिदिन प्रदूषित हुनेदेखि नदीमा जलमात्रा घट्ने क्रममा अभियानले यसबारे जनचेतना फैलाउने हेतुले काम सुरु गरिएको हो।
अभियानकाअनुसार नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन्। दामोदरकूण्ड-मुक्तिनाथदेखि कालिगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन् गरी गिट्टीमा परिणत भइरहेको छ।
यसैबीच, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजीविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह संकटलाई विभिन्न विधामार्फत् चेतना फैल्याउने अभियान सुरु भएको छ।
पहिलो श्रृङ्खलामा प्रस्तुत माधव घिमिरेको कविता ‘कलिगण्डकी’
माछापुच्छ्रे गिरिशिखरको पारमा मुक्तिक्षेत्र
बल्छन् बत्ती झलमल जहाँ भुलभुले मूलभित्र
तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्य धाम
काली गङ्गा! भनन कसरी कुँद्दछ्यौ शालिग्राम।
बेँसीदेखिन् बगरबगरै हाँसले लेक पुग्ने
छाया बग्लासरि लहरामा तीरका वृक्ष झुक्ने
घुम्छन् मैरै यस हृदयमा स्रोत तिम्रा पवित्र
गङ्गाजस्तै शिखर तपसी जह्नुका कोखभित्र।
‘यै कोल्टामा जडभरतले हो तपस्या गरेको
पानी भर्दा सुरयुवतिको स्वर्ण–पुष्पी झरेको
छोएजस्तै अभय भगवान् विष्णुका पाइलाले
बाँधेका छन् अमरपुरका शिल्प मेरा शिलाले।
फोरी अग्ला शिखर यसरी दूरसम्मन् घुमेथेँ
खस्रोमस्रो पनि सरसतासाथ मैले चुमेथेँ’
लेख्छौ क्यारे यति भनि तिमी चिन्ह के के शिलामा
‘मैलाई नै प्रकट कसरी गर्नु मैले कलामा।’
‘मान्छे तेरै हृदयमनि छन् गुप्त अज्ञात तन्त्री
ब्यूँझन्छन् रे विविध रँगका मूर्ति तैँबाट मन्त्री
सारा शोभा, सकल सुखको एउटै मूल तैँ होस्
मूर्छा तेरै हृदय छ भने सृष्टिको भूल तैँ होस्।’
यो मट्टीमा अकुशल कलाकारको मूर्ति रुन्छ
हाँसी हिँड्छन् पथिक, अरुको दर्द को आज सुन्छ
मेरो शिल्पी ! यस सकलमा स्वस्थ आकार देऊ
यौटै सानो सरल कृतिमा पूर्ण संसार देऊ।
छाया होओस् हरित वनमा फैलिने धूप होओस्
कैलेकाहीँ यस नगरमा डोलिने रूप होओस्
रूपैलाई अमरपुरमा साँचिने सीप होओस्
साक्षी मेरो विजन कुटिमा तैलको दीप होओस्।
मेरो सच्चा सुख छ दिनहूँ क्यै नयाँ सृजनामा
आफैँलाई पनि सृजनको सोखमा बिर्सनामा
आफ्नै छातीमनि स्वरसको मूल भेट्दैन जस्ले
तिर्खा कैल्यै पनि हृदयको हेर मेट्दैन त्यस्ले।
गर्दागर्दै परिश्रम जसै देश यो लस्त होला
हेर्दाहेर्दै चरम गिरिमा सूर्य जो अस्त होला
त्यै लालिकासित पलक यो ढालुँला शान्तिसाथ
काली तिम्रा बगरबगरै आउँला मुक्तिनाथ।
झूमा मेरी अमरवयसी शैलकी देवदासी
लोटेका छन् विपुल जसका पीठका केशराशि
यै सन्ध्यामा चमरि घिउमा दिव्य बत्ती जलाई
लैजाने छन् चरम गिरिको कन्दरामा मलाई।
बस्लान् बासा हिमशिखरको सूर्यका शेष रश्मि
छिप्लान् छाया मनि दिवसका रङ्गरेखा तिलस्मी
बस्लान् खाली अचल गिरिझैँ ध्यानमा मुक्तिनाथ
बाँधी दामोदर शिखरमा शुभ्र नक्षत्र सात।।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।