पोखरा- जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरास्थित प्रदेश नम्बर ४ को प्रदेशसभा सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले आइतबार जारी गरेको सूचना अनुसार पोखरा लेखनाथ महानगरपालिका–३ स्थित साविकको नगर विकास प्रशिक्षण केन्द्रको पूर्व नदीपुर चोक, उत्तरतर्फ पृथ्वीनारायण क्याम्पस जाने मार्गको सिमलको रुख, दक्षिणमा अधिकारी टोल, पश्चिममा बागबजारतर्फको परिसरभन्दा १ सय मिटर परसम्मको चार किल्ला क्षेत्रलाई निषेधित क्षेत्र घोषित गरिएको छ।
महानगरपालिकाको वडा नं ७ स्थित उत्तर फिर्के चौतारो, दक्षिण संघीय प्रहरी इकाई कार्यालय र सडक डिभिजनको चोक, पूर्वमा कोष तथा लेखा नियन्त्रकको कार्यालयको प्रवेशद्वार, पश्चिम प्रदेश प्रहरी कार्यालय क्षेत्रभित्र सोमबारदेखि भेला हुन, विरोध प्रदर्शन गर्न, जुलुस तथा र्याली गर्न नपाउनेगरी स्थानीय प्रशासन ऐन अनुसार आदेश जारी गरिएको छ।
प्रदेशको नामांकनको विषयलाई लिएर विभिन्न जाति तथा संघसंस्थाबाट विभिन्न क्षेत्रमा जुलुस तथा र्याली निकाल्ने क्रम बढेसँगै प्रशासनले त्यसलाई लक्षित गर्दै निषेधाज्ञा जारी गरेको हो।
आइतबार मात्रै खस क्षेत्री, बाह्मण 8, दसनामी लगायतका समूहको नेतृत्वमा आएको समूहले प्रदेशको नाम गण्डकी राख्नुपर्ने मागसहित प्रदेशसभा सचिवालयको प्रवेशद्वारमा धर्ना दिनुका साथै सभामुखको ध्यानाकर्षण समेत गराएका थिए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।