रुकुम– रुकुमको महत गाउँपालिकामा गुरिल्ला म्याराथन प्रतियोगिता सम्पन्न भएको छ। तत्कालीन माओवादीले २०५२ सालदेखि झन्डै १२ वर्षसम्म सञ्चालन गरेको सशस्त्र युद्धताका लडाकु अर्थात् ‘गुरिल्ला’ हिँडेको रुकुम पश्चिम र पूर्व तथा रोल्पाका पहाडी बाटोलाई ‘गुरिल्ला मार्ग’को रुपमा विकास गरेर दुई जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको थियो।
रुकुम पश्चिमको खाराबाट रोल्पाको रातोमाटे हुँदै रुकुम पूर्वको चुन्वाङ, महत, रोल्पाको थबाङ र रुकुम पूर्वकै तकसेरा, हुकाम–मैकोट प्वाङ र पोखराबाट रुकुम पश्चिमको बाँफिकोट हुँदै आठबिसकोटसम्मको रुटलाई गुरिल्ला मार्गका रुपमा तय गरिएको छ। यही मार्ग अन्तर्गत शनिबार रुकुम पूर्वको महतबाट रोल्पाको थबाङसम्म जम्मा २७.०२ किलोमिटर लामो पहिलो गुरिल्ला ट्रेल दौड प्रतियोगिता २०७५ आयोजना गरिएको आयोजक संस्था तथा जिल्ला अखिल नेपाल खेलकुद महासंघ रुकुम पूर्वका संयोजक सुनिल रोका मगरले बताए।
युद्ध पर्यटनलाई विकास र विस्तार गर्न र जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित भुमे गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित प्रतियोगितामा रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा र अछाम जिल्लाका जम्मा ११ महिला तथा २३ पुरुष गरी ३४ जना धावकले भाग लिएका थिए।
प्रतियोगिताको पुरुषतर्फ रुकुम पश्चिमको मुसीकोट नगरपालिकाका दुर्गाराज बुढाले ३ घन्टा ३ मिनेट २३ सेकेन्डमा तोकिएको दूरी पार गर्दै प्रथम स्थान हासिल गरे भने रुकुम पूर्वको सिस्ने गाउँपालिकाकै चेतकुमार केसीले ३ घन्टा ६ मिनेट १७ सेकेन्डमा दूरी पार गर्दै दोस्रो स्थान हात पारेका छन्। यस्तै, रुकुम पूर्व सिस्ने गाउँपालिकाकै गोपाल बुढाथोकीले जम्मा ३ घन्टा ७ मिनेट ४ सकेन्डमा उक्त दूरी पार गर्दै तेस्रो स्थान सुरक्षित गरे।
महिलातर्फ जम्मा ४ घन्टा २२ मिनेट १५ सेकेन्डमा दूरी पार गर्दै रुकुम पूर्वको भुमे गाउँपालिकाकी रोजिना बुढा प्रथम, जम्मा ४ घन्टा २५ मिनेट ११ सेकेन्डमा तोकिएको दूरी पार गर्दै भुमे गाउँपालिकाकै कविता बुढा दोस्रो र जम्मा ४ घन्टा २५ मिनेट ३४ सेकेन्डमा दूरी पार गर्दै सिस्ने गाउँपालिकाकी गीता विकले तेस्रो स्थान हात पारिन्।
विजेता धावकहरुलाई बधाई दिँदै कार्यक्रमकी प्रमुख अतिथि रुकुम पूर्वकी प्रतिनिधिसभा सदस्य तथा पूर्व खेलकुदमन्त्री कमला रोकाले मेडल, प्रमाणपत्र तथा नगद सहित सम्मान गरेकी थिइन्। यस्तै, सहभागी धावकहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रदेश ५ को एकमात्र हिमाली जिल्लाको रुपमा रहेको रुकुम पूर्वमा यस्ता साहसिक खेलहरु आयोजना गर्न राम्रो सम्भावना रहेकोले आगामी दिनमा अन्य खेल पनि आयोजना गरिने भुमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।