रातैभरि गर्जिरह्यो साम्राज्यवाद
र बगिरह्यो रगत
झरे जसरी उल्कापात
झरिरह्यो
२१औं शताब्दीको प्रतीक बनेर
वायुमण्डलबाट क्षेप्यास्त्र
एकै रातमा चुडीँ लग्यो
मेरो संसार
लग्यो मेरो जवानी
छुटाईदियो मेरा प्रिय पात्रहरु
एकै रातमा...
भोलि सबेरै उठेर
मलाई जानु छ
कतै पर
जहाँ बर्सियोस् मुसलधारे पानी
गर्जेपछि आकाश
बरु परोस् डरलाग्दो चट्याङ
चम्केपछि वायुमण्डल।
गरिसकेको छु मैले
यात्राको पूर्ण तयारी...
आमाको रगत लत्पतिएको कालो बुर्का
दिदीलाई मनपर्ने चुन्नी
जसमा बेरिएको छ उसको अधुरो सपना
बुबाको पुरानो अत्तर
जहाँ मिसिएको छ
देशको थोरै बास्ना
एउटा पुरानो सज्जादा
गोलीले धुजा धुजा पारेको
कुरानका केही पन्ना
र मेरो मृत्युको घोषणापत्र कोचेर
तयार पारिसकेको छु
एउटा भारी ब्यागप्याक।
जानेछु
यो एकलाश मरुभूमिको बाटो हुँदै
आइहाले भने
उत्तराधुनिक ट्याङ्क चढेर
मृत्युका सौदागरहरु
लुक्नेछु
कुनै धुलाम्मे क्याक्टसको छहारीमा
देखेर सोधिहाले भने
मेरो परिचय
देखाइदिनेछु
यो झोला खोलेर
मेरो खानदानकै इतिहास
अनायसमै कसैले
चलाइदियो भने बन्दुक
चपाउनेछु एक फाँको तातो बालुवा
र सम्झिनेछु
अल्लाहको हसिँलो मुहार।
डर छ
भित्र कतै मनमा
काट्न सक्दिन होला यो मरुभूमि
तर काटीहालेँ भने
यो बालुवाको नर्क
कहाँ पो पुग्छु होला म?
छन् होला त,
यो रेगिस्तानपारि
गोलाबारुदले नभेट्ने कुना?
विस्फोट र चित्कार नसुनिने सन्नाटा?
ट्यांक नगुड्ने सडक?
रगत नबग्ने नाली?
छन् होला त यो रेगिस्तानपारि
युद्ध नहुने देशहरु?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।