काठमाडौं- नेपालको सेयरबजार ओरालो लाग्ने क्रमले आज पनि निरन्तरता पाएको छ। मंगलबार १८.५४ अंकले घटेको पुँजीबजार मापक परिसूचक नेप्से आज (बुधबार) पुन: ४०.२६ अंकले घटेको छ।
यो साताको पहिलो कारोबार दिन आइतबार ६१ अंक र दोस्रो दिन सोमबार ०.२७ अंकले बढेको नेप्से त्यसयता लगातार घटेको हो।
आज ४०.२६ अंकले घटेसँगै नेप्से २८८९.०३ विन्दुमा ओर्लिएको छ। आज कारोबार रकम मंगलबारको तुलनामा झिनो अंकले बढेर पाँच अर्ब ३५ करोड ८० लाख रुपैयाँ पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार मंगलबार कूल पाँच अर्ब १९ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। मंगलबारको तुलनामा करिब १६ अर्ब रुपैयाँले कारोबार रकम बढेको हो।
आज कूल २२२ वटा कम्पनीका एक करोड पाँच लाख ५७ हजार ८६६ कित्ता सेयर ७५ हजार ८९५ पटक खरिद-बिक्री भएका थिए।
कारोबार भएकामध्ये ११ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ। बाँकी १७२ कम्पनीको सूचक नकारात्मक बनेको छ। दुईवटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन नभएको नेप्सेले जनाएको छ।
यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ७.१६ अंकले घटेर ५३८.५० विन्दुमा ओर्लिएको छ।
आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ८.२३ प्रतिशतले कमाएका छन्। हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ५.८३ प्रतिशतका दरले गुमाएका छन्।
आज अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर सबैभन्दा धेरै २२ करोड १४ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। नबिल ब्यालेन्स फण्डको सबैभन्दा धेरै सात लाख ४९ हजार ९५० एकाइ कारोबार भएको छ। सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर सबैभन्दा धेरै १६ हजार २७ पटक किनबेच भएका थिए।
आज सबै उपसमूहको परिसूचक नकारात्मक बनेको नेप्सेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।